क्यान महासंघ काभ्रे शाखाले “सूचना प्रविधिको विस्तार ः दिगो विकासको आधार” भन्ने मूल नारासहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को उपलक्ष्यमा “Digital Marketing and Creativity” विषयक प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था, पनौतीमा आयोजना गरिएको थियो । कार्यक्रम क्यान महासंघ काभ्रे शाखाको आयोजना तथा ज्योति मिर्मिरे सहकारीको सहकार्यमा सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि क्यान महासंघका केन्द्रीय उपाध्यक्ष शेखरनाथ दुलालले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को शुभकामना व्यक्त गर्दै डिजिटल युगसँगै बढ्दो प्रविधिको प्रयोग, डिजिटल साक्षरता र बजार विस्तारका लागि डिजिटल मार्केटिङको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले वर्तमान पुस्ता भौतिक रूपमा पसलमा गएर सामग्री खरिद गर्नेभन्दा अनलाइन माध्यमप्रति बढी आकर्षित भएको उल्लेख गर्दै आगामी पुस्तालाई लक्षित गर्न डिजिटल मार्केटिङ अनिवार्य रहेको धारणा व्यक्त गर्नुभयो ।
यसैगरी, ज्योति मिर्मिरे सहकारीका प्रमुख कार्यकारी अधिकृत एवं मेनेजर्स क्लब काभ्रेका अध्यक्ष गोपाल दाहालले वर्तमान समयमा डिजिटल सीप अत्यन्त आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रमहरूले व्यवसाय प्रवद्र्धन र उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । साथै, यस्ता कार्यक्रमहरू सहकारीमार्फत निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रमका प्रशिक्षक तथा क्यान महासङ्घ काभ्रे शाखाका सचिव केवल प्रसाद तिमल्सिना (राजकुमार) ले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै करिब ३० भन्दा बढी सहभागीहरूलाई डिजिटल माध्यमबाट व्यवसाय प्रवद्र्धन, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, कन्टेन्ट निर्माण तथा डिजिटल ब्रान्डिङसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गर्नुभयो ।
उक्त कार्यक्रममा ज्योति मिर्मिरे सहकारीका अध्यक्ष (विशिष्ट अतिथि), क्यान महासङ्घ बागमती प्रदेशका उपाध्यक्ष विकास पन्त, सहकारीका कर्मचारी, क्यान महासंघका कार्यसमिति सदस्यहरू, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । क्यान काभ्रेका अध्यक्ष तथा कार्यक्रमको सभापति देवकी आचार्य दुलालले डिजिटल युगमा सीपमूलक तालिमको आवश्यकता अझ बढ्दै गएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रम सञ्चालन पुरुषोत्तम दाहालले गर्नुभएको थियो ।
