काभ्रेको रोशी गाउँपालिका वडा नं. ९ मा रहेको पर्यटकिय एवं धार्मिक क्षेत्र बुम्बागाङ (भूमेचुली) मा नयाँ वर्षको अवसरमा विशेष मेला गत मंगलबार सम्पन्न भएको छ । रोशिको रजबास र महाभारत गाउँपालिका वडा नं. ४ को सीमानामा रहेको उक्त ठाउँमा नयाँ वर्षको दिन प्रत्येक बर्ष मेला लाग्ने गर्दछ । भूमेचुलीमा भुमेदेवको मन्दिर सगै भ्युटावर, महाभारत तथा हिमालयको सुन्दर दृष्य, प्राकृतिक मनोरम दृश्य अवलोकन गर्न सकिने भएकाले पनि आन्तरिक पर्यटकको भीड बढ्न थालेको स्थानीय साधुराम रानामगरले बताउनुभयो । भुमेदेवको पुजाअर्चना गर्नाले मनोकांक्षा पूरा हुने जनबिश्वासका कारण पनि उक्त क्षेत्रलाई दीगो धार्मिक पर्यटन सङ जोडेर काम गरिरहेको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । मानिसहरुले पहिलेदेखि नै आफ्नो गाउँमा कुनै पनि नराम्रो घटना र नोक्सान नहोस्, बस्तुभाउ एवं अन्नपानीको सुरक्षाको निमित्त सो ठाउँमा रहेको भुमेदेव देवताको पूजा गर्दै आईरहेको उहाँको भनाइ छ । ‘पर्यटन र कृषि रोशीको दृष्टि’ भन्ने नाराका साथ काम गरिरहेको पालिकाले सम्भावित पर्यटकीय क्षेत्रको विकासका लागि काम गर्ने, प्रचार प्रसार गर्ने तथा मेला जात्रा लाग्ने ठाउँहरुमा संरक्षण प्रवद्र्धन र स्तरोन्नतीका लागि आवश्यक बजेटको व्यवस्थापन गर्दै आएको छ । मेलामा काभ्रेका विभिन्न पालिकाका साथै छिमेकी जिल्लाहरु सिन्धुली, रामेछाप लगायतबाट समेत आन्तरिक पर्यटक र भक्तजनहरुको उपस्थिती रहेको थियो ।
