IMG-LOGO

अपांगता भएका व्यक्तिका लागि स्वास्थ्य सामग्री वितरण

 मंगल, सावन १२, २०७८  ----

       भकुण्डेबेशी- नमाबुद्ध नगरपालिकामा अपांगता भएका व्यक्तिहरुका लागि स्वास्थ्य सामग्रीसहित अत्यावश्यक सहायक सामग्रीहरु वितरण गरिने भएको छ । वडा कार्यालयमार्फत सबै वडामा रहेका अपांगता भएका व्यक्तिका लागि वितरण गर्न लागिएको सहायक सामग्री र स्वास्थ्य सामग्रीहरु आइतबार नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले सम्वन्धीत वडाका वडाअध्यक्षहरुलाई हस्तान्तरण गरेका छन् ।

       नगरपालिका स्तरीय अपांगता परिचय पत्र सिफारिस समन्वय समिति संयोजक एवं उपप्रमुख रामदेवी तामाङको अध्यक्षतामा भएको कार्यक्रममा ह्वील चेयर १४ वटा, कमोड ट्वाइलेट १३ वटा, वैशाखी ६ वटा, दृष्टिबिहीनका लागि सेतो छडी ५ वटा, लठ्ठी १५ वटा, फोष्टिक लठ्ठी १ वटा हस्तान्तरण गरिएको छ । यस्तै १०० एमएलको सेनिटाइजर ३५० थान, मास्क ३५० प्याकेट तथा मस्किटो लिक्विड ४०५ थान हस्तान्तरण गरिएको छ ।

       नगरस्तरीय कार्यक्रम अन्तर्गत दाँतसहितको मुस्कान कार्यक्रमअन्तर्गत १०० जनाको दाँत राख्ने, तिलगंगा आँखा अस्पतालसँगको समन्वयमा सुगर र आँखा युनिट तयारी कार्यक्रम, नेपाल हियरिङ एन्ड स्पिच सेन्टर, यु नेपाल आई प्रोग्राम तिलगंगाको समन्वयमा १०० जनाका लागि कानमा राख्ने मेसिन वितरण हुने कुरा नगर प्रमुख शर्माले बताए । यस्तै जेष्ठ नागरिक सेन्टर बत्तिसपुतलीसँगको सहकार्यमा अल्जाइमर्सको उपचार कार्यक्रम तथा कान नसुन्ने एवं आँखा नदेख्ने अपांगता भएका व्यक्तिलाई मैत्रीपूणर् मोबाइल वितरणको कार्यक्रम गरिनेछ भने विपन्न र अपांगता भएका १ हजार परिवारका लागि पारिवारिक स्वास्थ्य बीमा कार्यक्रम तय गरिएको छ । नगर प्रमुख तिमल्सिनाले नगरमा रहेका जेष्ठ नागरिकका लागि वृद्धवृद्धा भेटघाट चौतारी निर्माण गरिएको जानकारी दिँदै सामाजिक सुरक्षावापतको रकम बैंकिङ प्रणालीमार्फत सहजरुपमा वितरण भइरहेको पनि बताए ।

       कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल अपांगता भएका व्यक्तिहरुको हितमा कार्य गरेको बताए । नमोबुद्ध नगरपालिका महिला बालबालिका तथा समाजकल्याण उपशाखा प्रमुख तारादेवी सुरुवारका अनुसार आर्थिक बर्ष २०७७/७८ को अन्त्यसम्ममा नमोबुद्ध नगरपालिकामा ३५० जना अपांगता भएका व्यक्ति रहेका छन् । चालु आर्थिक बर्षमा पनि थप अपांगता परिचयपत्र वितरण भइरहेको उनले जानकारी दिएकी छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्