नगरकोटका होटलमा खाद्य तथा गुण नियन्त्रण कार्यालय काभ्रेको अनुगमन, दुई वटाले पाए ‘अतिउत्तम’को लोगो साउन २, काभ्रे/ पर्यटकीय क्षेत्र नगरकोटमा रहेका होटलहरुको स्तरीकरण तथा लोगो वितरण कार्य सम्पन्न भएको छ। खाद्यप्रविधितथा गुण नियन्त्रण डिभिजन कार्यालयधुलिखेल काभ्रेले नगरकोटमा रहेका ‘होटलहरुको लोगो स्तरिकरण तथा नविकरण कार्यक्रम वुधबार सम्पन्न गरेको हो ।
गुण नियन्त्रण डिभिजन कार्यालयले नगरकोटमा रहेका २० वटा होटलहरुको स्तरीकरण तथा लोगो वितरण गरेको हो । आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रमअनुसार खाद्य स्वच्छताको आधारमाहोटल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४ अनुसुचि १ बमोजिम प्राप्त निवेदनका आधारमा स्थलगत अनुगमन निरीक्षण गरि २० वटा होटलमा अनुगमन गर्दा २ वटा होटलले हरियो स्टिकर अति (उत्तम क) प्राप्त गरे भने २ वटा होटल (उत्तम ख) मा परेका छन् । यस्तै ९ वटाले हरियो स्टिकर (मध्यम ग) पाए भने ७ वटाले पहेलो स्टिकर (सन्तोषजनक घ) प्राप्त गरेका छन् ।
‘होटल कन्ट्री भिल्ला’ र ‘होटल क्लब हिमालय’ले तीनतारा सहितको हरियो स्टिकर (अतिउत्तम) प्राप्त गरे भने ‘होटल ग्रीनभ्याली’ र ‘होटल नगरकोट इन’ले दुई ताराको हरियो स्टिकर (उत्तम ख) प्राप्त गरेका छन् ।
यस्तै होटल चौतारी, न्यु ड्रागन रिसोर्ट, होटल नगरकोट होलिडे इन, सनराईज मुनवीम, एभरेष्ट विन्डो भ्यु, एभरेष्ट मान्ला रिसोर्ट, स्तुपा रिसोर्ट, होटल युनाईटेड भिजनइन, होटल सिरसले एक ताराको हरियो स्टिकर (मध्यम ग) प्राप्त गरेका छन् ।
यसैगरी, होटल ग्रीनल्याण्ड, नगरकोट प्याराडाइज, शेर्पा अल्पाईन कटेज, पिसफुल कटेज एण्ड क्याफे टु मण्ट, माउन्टेन रिसोर्ट, होटल ग्यालेक्सी भ्यु टावर र होटल द नीवाले पहेलो स्टिकर (सन्तोषजनक घ) लोगो प्राप्त गरेका छन् ।
सरसफाई, सेवा प्रदान लगायत ५० वटा सूचकका आधारमा अनुगमन गरिएको कार्यालयका प्राविधिक सहायक अतिस घिमिरेले जानकारी दिनुभयो ।
स्तरीकरण गरिएका होटल व्यवसायीहरुलाई खाद्य स्वच्छता सम्बन्धी प्रतिवद्धता गराई सार्वजनिक रुपमा फ्लेक्स बनाएर टाँस्न अनुरोध गर्दै प्रमाणपत्र समेत वितरण गरिएको र आगामी आर्थिक वर्ष भित्रमा रितपूर्वक निवेदन दिई नवीकरण गराईसक्नु पर्ने खाद्य-प्रविधितथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेल काभ्रेका प्रमुख नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
अनुगमन टोलीमा मण्डनदेउपुर नगरपालिका २ का वडाध्यक्ष केशबप्रसाद तिमल्सिना, वडा सदस्य डम्बरबहादुर तामाङ,चन्द्रसुर्य टोल सुधार समितिका अध्यक्ष मिनु तामाङ, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष बद्रिप्रसाद माक, पत्रकार एवं प्रहरीको सहभागिता रहेको थियो । होटल स्तरीकरण ५० वटा सुचांकलाई आधार मानेर मुल्यांकनगर्दा ९० अंक भन्दामाथि आएमा (अतिउत्तम), ८०-८९ अंक आएमा (उत्तम ख), ६५-७९ सम्म (मध्यम ग), ५०-६४ सम्म (सन्तोषजनक घ)मापन गरी लोगो प्रदान गरिने गुण नियन्त्रण कार्यालयका अधिकारीहरुले बताएका छन् ।
स्तरीकरण गरिएका होटलहरुलाई ६ महिना भित्रमा पुनःनिरीक्षण गर्दा सुधार नभएको पाईएमा स्तरीकरण लोगोमा एक तह घटाईने कार्यालयले चेतावनी पनि दिएको छ ।
