केपी ओलीको दुइबर्षको कार्यकाल पुग्दा नपुग्दै नेपाली संचार माध्यामहरु इतर बनेका थिए । केपी ओलीको बहिर्गमन पछि मिडियामा प्रधानमन्त्री शेरबहादुर देउवा हाईहाई बनेका छन् । आइतबार शेरबहादुर देउवाले संसदबाट विश्वास मतःपाएपछि नेपालका प्रमुख दैनिक पत्रिकाले के लेखे भन्ने कुरा सबैले चासो पुर्वक हेरेका थिए । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो दिनको दोस्रो बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि त्यसबारे विभिन्न सञ्चारमाध्यमले फरक-फरक ढङ्गबाट समाचार सम्प्रेषण गरेका छन् । उक्त घटनालाई अनलाइन, रेडियो, टेलिभिजन र पत्रपत्रिकाले निकै महत्वका साथ स्थान दिएको पाइएको छ ।
नेपालको राजनीतिक इतिहासमा विरलै हुने घटनामध्येको एक सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका देउवाले आइतवार संसद्बाट विश्वासको मत पाएका हुन् । कान्तिपुर दैनिकले ’प्रतिनिधिसभाको पूणर् जीवन सुनिश्चित’ भन्ने ब्यानर शीर्षक दिएर विशेष प्राथमिकताका साथ समाचार छापेको छ । समाचारमा ३२ वर्षमा २८ पटक कांग्रेस सरकारमा गएको र एमालेका ३३ सांसदले पार्टी निणर्य उलङ्घन गरेको विषय पनि समेटेको छ । नयाँ पत्रिका दैनिकले पनि ब्यानर शीर्षक दिएर ’देउवा शक्तिशाली प्रधानमन्त्री’ बनेको उल्लेख गरेको छ । नयाँ पत्रिकाले सम्पादकीय मार्फत् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई यथार्थ स्वीकार्न सुझाव पनि दिएको छ । सरकारी स्वामित्वको गोरखापत्रले ब्यानर शीर्षकमा ’प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त’ लेखेको छ भने ’राजनीतिक स्थिरताको सन्देश’ शीर्षकमा सम्पादकीय लेखेको छ।नागरिकले एमालेका दुवै पक्षलाई यो प्रकरणले घाटा पुगेको समाचारलाई पहिलो पृष्ठमै स्थान दिएको छ।राजधानी दैनिकले ’देउवालाई एक सय पैसठ्ठी सांसदको साथ’ शीर्षकमा प्रथम पृष्ठमा समाचार लेखेको छ ।
