IMG-LOGO

कोरोनाको खोप  क-कसलाई दिइँदैछ ?

 मंगल, असार २२, २०७८  ----

पौने आठ लाख नेपालीले पहिलो मात्रा र झन्डै तीन लाख नेपालीले दुवै मात्रा लगाएको चिनियाँ भेरोसेल खोप थप आपूर्ति भएपछि उमेर समूह र विपद्बाट प्रभावित क्षेत्रहरूलाई प्राथमिकता दिएर वितरण गरिने अधिकारीहरूले बताएका छन् । हालसम्म नेपालले चीनबाट अनुदानमा पाएको १८ लाख भेरोसेल खोपमध्ये १३ लाख ७३ हजार मात्रा खोप वितरण भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पहिलो मात्रा भेरोसेल खोप लगाएका व्यक्तिहरूलाई मङ्गलवारबाट दोस्रो मात्रा खोप वितरण गरिँदैछ । त्यसका लागि देशैभर खोप पुर्‍याइएको र जिल्लास्थित निकायहरूले खोप केन्द्रहरू तोक्ने भनिएको छ ।
           सरकारले चीनसँग ४० लाख खोप किन्ने सम्झौता गरेको भए पनि त्यसबारे विस्तृत विवरणहरू प्रकाशमा ल्याएको छैन । अघिल्लो साताको अन्त्यमा विज्ञप्ति निकाल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ताले सिनोफार्म कम्पनीसँग भएको सम्झौता अनुसार बिहीवारबाट खोप आपूर्ति सुरु भई त्यसपछि साप्ताहिक रूपमा विभिन्न चरणमा खोप आउने बताएका थिए । गएको चैतमा भेरोसेल खोपको पहिलो मात्रा वितरण गर्दा सरकारले प्राध्यापक/शिक्षक, चीनमा अध्ययन गरिरहेका विद्यार्थी, हिमालयपार व्यापारमा संलग्न व्यवसायी, सार्वजनिक यातायातका सवारी चालक र सहचालक सहितलाई उपलब्ध गराएको थियो । त्यस बेला ४० देखि ५९ वर्षको उमेर समूहका व्यक्तिलाई पनि दिइएको उक्त खोप वितरणमा चीनसँग सीमा जोडिएका जिल्लाका नागरिकलाई प्राथमिकतामा राखिएको थियो ।
    अब प्राप्त हुने चिनियाँ खोप कसरी वितरण हुन्छ ? खोप शाखाका प्रमुख डाक्टर गौतमले पहिला नै निर्धारण गरिएको प्राथमिकता क्रममा आधारित रहेर अव प्राप्त हुने भेरोसेल खोप वितरण गर्ने योजना बनाइने बताए । पोहोर साल स्वास्थ्य मन्त्रालयले जोखिम र उमेर समूहका आधारमा खोप वितरणको प्राथमिकताक्रम निर्धारण गरेको थियो । भारतले खोप आपूर्ति रोकेपछि नेपालको खोप अभियान प्रभावित भइरहेको छ ।   त्यसमा पहिलो प्राथमिकता स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारी, अग्रपङ्क्तिमा खटिने अन्य पेसाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र ६५ वर्षदेखि माथिको उमेर समूहलाई पहिलो प्राथमिकतामा राखिएको थियो । दोस्रो प्राथमिकतामा ५५ देखि ६४ वर्षको उमेर समूहका व्यक्ति, विभिन्न गम्भीर किसिमका अन्य रोग भएका व्यक्ति र आप्रवासी कामदार, शरणार्थी र बन्दी लगायतलाई खोप दिइने भनिएको थियो । तेस्रो प्राथमिकतामा चाहिँ ४० देखि ५४ वर्ष र त्यसपछि १८ देखि ३९ वर्षका व्यक्तिहरूलाई खोप दिने भनिएको थियो । उक्त प्राथमिकता क्रम पटक पटक मिचेको र पहुँचका भरमा हजारौँलाई खोप बाँडेको आरोप सरकारमाथि लाग्दै आएको छ । भारतमा उत्पादन भइरहेको कोभिशील्ड खोपको पहिलो मात्रा १८ लाख २८ हजार जनाले र दुवै मात्रा ४ लाख ५९ जनाले शनिवारसम्म लगाएका तथ्याङ्क छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्