धुलिखेल अस्पतालमा महिलाहरूको उपचारका लागि धुलिखेल अस्पताल र युएन एफपीए बीचको सहकार्यमा मेनोपज (रजनोवृत्ति) क्लिनिक प्रारम्भ भएको छ । बुधबार क्लिनिकको प्रारम्भ गर्दै एक समारोहका बीच क्लिनिकको उदेश्य, आवश्यकता र औचित्यका वारेमा जानकारी गराईएको थियो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. रामकण्ठ माकजुले क्लिनिक संचालनले महिला स्वास्थ्य सेवामा नयाँ आयम थपेको बताउनुभयो । कार्यक्रममा युएनएफपीएका कन्ट्री रेप्रेजेन्टेटिभ म्याडम योङ्ग हंगले महिलामा हुन सक्ने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सरका साथै अन्य रोगहरूको समेत पहिचान गर्न सहज हुने भएकाले महिलाको लागि यो क्लिनिकको सेवा ज्यादैं उपयोगी हुने उल्येख गर्नुभयो ।
प्रा.डा. आभा श्रेष्ठले अस्पतालले उपलब्ध गराउने सेवामा महिलाहरूका लागि यो क्लिनिक थप प्रभावकारी हुने बताउनुभयो । प्रा डा अन्जना डंगोलले मेनोपज पिरियड र मेनोपजका बेला ध्यान दिनुपर्ने जनाउनुभयो । कार्यक्रममा स्वागत मन्तब्य प्रा.डा. सुमनराज ताम्राकारले राख्नुभएको थियो ।
महिलाको उमेर ४० देखि ५५ वर्ष पुग्दा रजनोवृत्ति (मेनोपोज) हुन्छ । मेनोपोज हुँदा महिलामा केही अप्ठेरा लक्षणहरु देखिन्छन् । जसका कारण नियमित काममा अवरोध उत्पन्न हुन्छ । मुड तलमाथि हुने, छटपट्टी भई निन्द्रा नलाग्ने, एक छिनमा शरीर तातिने त्यहि रोगका लक्षण हुन् । यहि मस्याको कारण मेनोपोज हुन लागेकी महिला परिवारका सदस्यहरुसँग झर्किने, एक छिनमा रिसाउने र अन्य साथीभाइसँग पनि रिसाउने समस्या जस्ता समस्या देखिन्छन् । यो अवधि एक देखि दुई वर्षसम्म रहन्छ । यो समय महिलाको लागि कष्टकर हुन्छ । यी समस्याको उचित व्यवस्थापनको लागि मेनोपोज क्लिनिकको सेवा आवश्यक रहेको सहभागि चिकित्सकहरूले बताउनु भएको थियो ।
