IMG-LOGO

मेलम्चीको घाउमा नमोबुद्धको मल्हम

 मंगल, असार ८, २०७८  ---

    मेलम्ची-मंगलबार राती आएको बाढीका कारण अस्तव्यस्त बनेको मेलम्चीका लागि नमोबुद्ध नगरपालिकाले सहयोग गरेको छ । 
पालिका-पालिकाबीच सहकार्यको नयाँ सुरुवात गर्दै काभ्रेको नमोबुद्ध नगरलले छिमेकी जिल्ला सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकालाई आर्थिकसँगै खाद्यान्नसमेत सहयोग गरेको हो । मेलम्ची नगरपालिकामा बाढीले तहसनहस बनाएको खबर सार्वजनिक भएलगत्तै नमोबुद्धले बुधबार नै सहयोगको निणर्य गरेको थियो । उक्त निणर्यको भोलीपल्ट बिहीबार बिहानै मेलम्ची पुगेको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल नेतृत्वको टोलीले नगरपालिकालाई सहयोग हस्तान्तरण गरेको छ । नमोबुद्ध नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सेवा सुविधाका साथै नगरको प्रकोप व्यवस्थापन विशेष कोयषबाट ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ सहयोग गरेको छ । सहयोग रकमको चेक प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर वहादुर अर्याललाई हस्तान्तरण गरे । यससँगै उनले नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले पठाएको लिखित सन्देशसमेत मेलम्ची नगर प्रमुख अर्याललाई हस्तान्तरण गरेका थिए । 
नमोबुद्ध नगरपालिकाको सहयोग बुझ्दै मेलम्ची नगरपालिका प्रमुख अर्यालले आफूहरुको दुःखमा साथ दिएकोमा नगर प्रमुख टिपी शर्मा तिमल्सिनासहित नगरपालिका परिवारप्रति आभार प्रकट गरे । नगरपालिकाले निर्माण गरेका र निर्माणाधीन अवस्थामा रहेका नगरको गौरवका अधिकांश आयोजनामा बाढीले क्षति पुगेको जानकारी दिँदै उनले विपद व्यवस्थापन र पुननिर्माणबारे छलफल सुरु भइसकेको बताए । उनले नमोबुद्ध नगरपालिकाको तर्फबाट प्राप्त सहयोगको पूणर्रुपमा सदुपयोग गर्ने प्रतिवद्धता जनाउँदै सहकार्यको नयाँ अभ्यासले आफूहरुलाई धेरै हदसम्म राहत महसुस भएको बताए ।
    नमोबुद्ध नगरपालिकाले आर्थिक सहयोगसँगै खाद्यान्नसमेत सहयोग गरेको छ । नमोबुद्धले ६ सय केजी चामल, ४० लिटर तेल, ६० किलो दाल र २० किलो नुन मेलम्चीलाई सहयोग गरेको छ ।
मेलम्ची नगरपालिकामा बाढीबाट विस्थापित नागरिकहरु स्थानीय इन्द्रेश्वरी माध्यामिक विद्यालयमा बसिरहेका छन् । मेलम्ची नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरणको व्यवस्था मिलाएको छ । विद्यालयमा पीडितहरुका लागि खाने बस्ने लगायतका सुविधा प्रदान गरिएको छ । मेलम्ची नगर प्रमुख अर्यालले नगरपालिकाभित्र २५ करोड रुपैयाँ भन्दा बढीको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको र क्षतिको विवरण संकलनको कार्य भइरहेको जानकारी दिएका छन् ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्