बाग्मती प्रदेश सरकारले आफू नियन्त्रित आमसञ्चार गृह स्थापना गर्न बजेट विनियोजन गरे पछि सरोकारवालाहरूले विरोध गरेका छन् । प्रदेश सरकारको निणर्य स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताविपरीत रहेको र त्यसले लोकतन्त्रको आधारभूत मूल्यमान्यतामै प्रहार गर्ने नियत देखिएको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन् । नेपाल पत्रकार महासंघको वाग्मती प्रदेश समितिले शनिबार आयोजना गरेको ‘प्रदेश सरकारको बजेट र त्यसमा समेटिएका सञ्चार क्षेत्र’ सम्बन्धी भर्चुअल अन्तर्क्रिरयाका सहभागीहरूले बजेट सञ्चारमैत्री हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै स्वतन्त्र प्रेसविरोधी नीतिहरू कार्यान्वयन हुन नदिन दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
