काभ्रेपलाञ्चोक जिल्लामा रहेका १६ वटा सामुदायिक क्याम्पसमा नै स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी संगठन बीच हिजो भाग बण्डा सहित हस्ताक्षर भएसँगै निर्वाचन हुने पक्का भएको हो । यस अघि कानपुर र डेडिथुम्कामा विद्यार्थीहरुको सहमतिमा संगठन दर्ता नगरेको भए पनि पछिल्लो सहमति अनुसार संगठन दर्ता गरी सबै क्याम्पसमा उम्मेदवारी दर्ता गर्न विद्यार्थी संगठन आपसी सहमती गरेका छन् ।
निर्वाचन तालिका अनुसार आज मंगलबार उम्मेदवारी दर्ता गर्ने अन्तिम तयारीमा विद्यार्थी संगठन जुटेका हुन् । अधिकांश क्याम्पसमा एमाले निकट अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा माओवादी निकट अखिल क्रान्तिकारी बीच सहमतिमा उम्मेदवारी दर्ता गर्ने अन्तिम प्रयास गरिएको छ । काभ्रे बहुमुखी क्याम्पसमा भने संगठनहरुले मित्रवत प्रतिस्पर्धा गर्ने भएका छन् ।
सहमति अनुसार एमाले निकट अनेरास्ववियु र नेपाली काँग्रेस निकट नेविसंघले ६/६ वटा क्याम्पसमा सभापति पाउने गरी सहभागी भएको छ । सभापति लिएका क्याम्पसहरुमा संगठनले कोषाध्यक्ष र सह सचिव पद पाउनेछन् । अखिल क्रान्तिकारीले ३ वटा क्याम्पसमा सभापति पाउनेछ । अनेरास्ववियुले कुशादेवी क्याम्पस, तेजगंगा बहुमुखी क्याम्पस, धुलिखेल, जनक, सर्वमंगला र डेडिथुम्काको नेतृत्व पाउनेछ भने नेविसंघले इन्द्रेश्वर क्याम्पस, पार्वती, प्रकाश, चैतन्य बहुमुखी क्याम्पस, मंगलजन विजय र कानपुर क्याम्पसको नेतृत्व पाउनेछ । अखिल क्रान्तिकारीले सञ्जिवनी, प्रभा र दाप्चा क्याम्पसको नेतृत्व पाउनेछ ।
काभ्रे बहुमुखी क्याम्पसमा भने विद्यार्थी संगठनहरु अलग अलग प्रतिस्पर्धामा उत्रने भएका छन् । निर्वाचन तालिका अनुसार सबै क्याम्पसले मतदाताहरुको नामावली सार्वजनिक गरिसकेका छन् । अन्तिम नामावली प्रकाशनसँगै सोमबार उम्मेदवारका लागि मनोनयन पत्र वितरण गरिएको छ । आज मंगलबार २७ गते प्रत्यक्ष र समानुपातिक दुबै तर्फको उम्मेदवारको मनोनयनपत्र नामावली दर्ता हुनेछ । उम्मेदवारको अन्तिम नमावली प्रकाशन २९ गते हुनेछ भने निर्वाचन चैत्र ५ गतेका लागि तोकिएको छ । जिल्लामा एमाले निकट अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेविसंघ, माओवादी निकट अखलि क्रान्तिकारी र समाजवादी निकट विद्यार्थी संगठन दर्ता भएका छन् ।
