काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहन थापालाई अमेरिकाका विमानस्थलमा स्थानीय प्रहरीले पक्राउ गरेको छ । फेडरल ब्यूरो अफ इन्टेलिजेन्स (एफबीआई) अधिकारीले उनलाई पक्राउ गरेको हो । पक्राउको कारण खुलेको छैन । उनलाई नेपाल डिपोर्ट गर्ने या नगर्ने भन्ने विषयमा पनि केही खुलेको छैन । उच्च स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले इन्टरपोलमा गरेको पत्राचारका आधारमा पक्राउ गरिएको हो । तर, यसको स्वतन्त्र पुष्टि सीआईबीले गरिसकेको छैन । थापा रास्वपा सभापति रवि लामिछानेको अवैध रकमको कारोबारी रहेको आरोप लागेको थियो। रास्वपाका तत्कालिन सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि २ करोड मागेको कोर टीमका सदस्य तथा पूर्वमहामन्त्री मुकुल ढकालले नाम नै किटान गरेको व्यक्ति हुन् पक्राउ गरिएका थापा । यसबाहेक थापा प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणमा कालोझन्डा देखाउने अभियानका नाइके पनि थिए। उनले आह्वान नै गरेर कालो झन्डा देखाउन भनेका थिए ।
अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ गरिएका हुन् । उनले अमेरिकी सरकारको नीतिविपरित ठगी धन्दा चलाएको भन्ने पनि आरोप लगाएको छ । एक सातासम्म नेपाल डिपोर्ट नगरिएका थापा अमेरिकी कानुन उल्लंघन र अपराध गरेका आधारमा पक्राउ गरिएको भन्ने प्रारम्भिक जानकारी आएको छ । यद्यपि यसबारेमा क्यानडानेपालले एफबीआईलाई गरेको इमेलमा जवाफ आएको छैन । अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ । बाल्टिमोरस्थित नेपालीहरुको छाता संगठन बानाका पूर्व अध्यक्ष समेत रहेका थापाको पक्राउबारे संस्थाका अधिकारीहरुले थाहा पाए पनि यसलाई गोप्य राखेका थिए । राष्ट्रपति ट्रम्प निर्वाचित भएपछि विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेर सम्बन्धित देशमा पठाउने प्रक्रिया चलिहरहेको बेला थापालाई नेपाल फर्काउने आशंका समेत गरिएको छ ।
