IMG-LOGO

कोरोना संक्रमितले बेच्दै गरेको मदिरा नष्ट

 मंगल, असार १, २०७८  ----

    भकुण्डेबेशी-नमोबुद्ध नगरपालिकामा कोभिड १९ पोजेटिभ रहेका व्यक्तिबाटै अवैधरुपमा बिक्री वितरण भइरहेको घरेलु मदिरा नष्ट गरिएको छ । 
    नमोबुद्ध नगरपालिका ४ छत्रेपाटीमा स्थानीय एक परिवारले बिक्री वितरण गरिरहेको घरेलु मदिरा बुधबार बरामद गरी नष्ट गरिएको हो । उक्त परिवारका सदस्यमा कोभिड-१९ पोजेटिभ देखिएको थियो । कोरोना संक्रमित हुँदाहुँदै घरेलु मदिरा बिक्री गरिरहेको सूचनाको आधारमा नमोबुद्ध नगरपालिका, वडा कार्यालय र प्रहरीचौकी भकुण्डेको टोली अनुगमनमा गई १२० लिटर घरेलु मदिरा बरामद गरी प्रहरी चौकी भकुण्डेमा नष्ट गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले जानकारी दिएका छन् ।
        टोलीमा नमोबुद्ध नगरपालिका ४ का वडाअध्यक्ष उद्धवप्रसाद काफ्ले, प्रहरी चौकी भकुण्डेका इन्चार्ज अशोक महतो लगायत सहभागी थिए । मदिरा बिक्री गर्ने उक्त परिवारका सदस्यलाई भने आइन्दा अवैधानिक कार्य नगर्ने चेतावनीसहित छाडिएको छ । नगरपालिकाका विभिन्न स्थानमा निषेधाज्ञाको उल्लंघन गर्दै अवैधरुपमा मदिरा बिक्री वितरण गर्ने गरेको सूचना आएको र त्यसको अनुगमन तीब्र बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । नगरपालिकाले कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिलाई होम आइसोलेसनमा बस्न र कुनै स्वास्थ्य समस्या भए नगरपालिकामा सम्पर्क गर्न आग्रह गर्दै आइरहेको छ । स्वासप्रस्वास लगायत सवास्थ्य समस्या भएका बिरामीका लागि नगरपालिकाले जनक बहुमुखी क्याम्पसमा आइसोलेसनको व्यवस्थासमेत गरेको बताए ।  
    यसैबीच, नमोबुद्ध नगरपालिकाले नगरपालिकाको प्रमुख व्यापारिक केन्द्र भकुण्डे बजारमा अनुगमन तीब्र बनाएको छ । प्रहरीसहित नगरपालिकाको टोलीले जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि अनुगमन तीब्र बनाएको हो । नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐनअनुसार कार्बाही हुने व्यवस्था गरिएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्