नेपाल दृष्टिविहिन कल्याण संघ केन्द्रीय सभाको ३७ औ साधारण सभा धुलिखेलमा शनिबार सम्पन्न भएको छ । काभ्रे शाखाको आयोजनामा केन्द्रीय अध्यक्ष तीर्थराज वन्तको सभापतित्व एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता तथा उपप्रमुख निराजन जंगमको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि ब्याञ्जुले धुलिखेल नगरपालिकाले अपाङ्गता परिषद् मार्फत नेत्रविहिन लगायतलाई सहजिकरण गरिरहेको उल्लेख गर्नुभयो । उक्त अबसरमा उत्कृष्ट शाखा पुरस्कार, डा.लक्ष्मीनारायण प्रसाद प्रतिभा पुरस्कार, केशावति मास्के अपाङता उत्कृष्ट सेवा पुरस्कार २०७४, गौरी–तुल्सी पुरस्कार, ज्योती केसी प्रतिभा पुरस्कार, विष्णुदेवी नारायण गोविन्द पुरस्कार, रोटरी क्लव अफ काष्ठमण्डप पुरस्कार, हेमन्त निलिमा पुरस्कार प्रदान गरिएको थियो भने काभ्रे जिल्ला शाखाका संस्थापकहरु, पुर्व जिल्ला शाखा सभापति तथा सदस्यहरु, सञ्जिवनी माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापकहरु, कान्छीमाया तामाङ फाउण्डेशन काभ्रे लगायतलाई सम्मान गरिएको थियो । जिल्ला शाखा काभ्रेकी पुण्यवती घलेले सञ्चालन गर्नुभएको कार्यक्रममा काभ्रे शाखा अध्यक्ष पूर्णवहादुर कार्कीले स्वागत मन्तव्य राख्नुभयो भने केन्द्रीय उपाध्यक्ष चण्डेश्वरानन्द राज बैद्येले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
