बनेपा÷गुरु पुर्णिमाको दिनको अवसरमा जिल्लाका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी सम्पन्न गरेका छन् । पनौती ५ श्रीखण्डपुरमा रहेको विन्ध्यबाविसनी आध्यात्मिक प्रतिष्ठानले तेश्रो बार्षिकोत्सव तथा गुरु पुजनोत्सव एवं चतुर्थ आश्रम प्रवेशका अवसरमा संस्थाका संस्थापक परमाध्यक्ष स्वामी निःशेषानन्द गिरी जी महाराजको सार्वजनिक अभिनन्दन गरिएको छ ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारीहरु प्रदिप थापा, उद्धव तिमल्सिना, शिवप्रसाद तिमल्सिना, हरिकृष्ण तिमल्सिना, रामप्रसाद तिमल्सिना, सल्लाहकार भोला केसी लगायतका पदाधिकारी तथा विन्ध्यबासिनी आध्यात्मिक प्रतिष्ठान, मातृशक्ति समुह, जेष्ठ नागरिक मिलन केन्द्र लगायतका संघ संस्थाका पदाधिकारी तथा स्थानीयहरुले गुरुपुजनोत्सवमा अभिनन्दन गर्नु भएको थियो ।
उक्त क्षेत्रमा निर्माण भएका संरचना निर्माण तथा गुरुकुल संचालनका बारेमा भएका प्रगतिका बारेमा जानकारी गराईएको थियो । गुरुकुलमा संस्कृत, नेपाली र अंग्रेजी भाषबाट पाठ गराईदै आएको छ । बुमानन्द स्वामीको प्रमुख आतिथ्यितामा सम्पन्न कार्यक्रममा पनौती नगरपालिका नगर प्रमुख रामशरण भण्डारी, अन्तरा स्ट्रिम भागवत बाचक पण्डित हरिकृष्ण उपाध्यायको आतिथ्यता रहेको थियो । त्यसै गरी सोही अवसरमा आइतबार नेपाल इन्टरनेशनल क्योकुसिनकाई कराँते फेडेरेशन बनेपा काभ्रेले कराँतेका दिग्गज व्यक्तिहरु संस्थाका नेतृत्व समालेका कराँतेका गुरुहरुलाई सम्मानित गरेको थियो ।
