IMG-LOGO

आमाबुबा विहीन बालबालिकालाई आर्थिक सहायता

 मंगल, असार २६, २०८१  ---

 

     बेथानचोक गाउँपालिकाले आमाबुबाविहीन बालबालिकालाई आर्थिक सहायता दिएको छ । आमाबुबाविहीन भएका १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सुरक्षा भत्ताअन्तर्गत प्रतिमहिना २ हजार रुपैयाँका दरले पालिकाका ९ जना बालबालिकालाई एकमुष्ठ २ लाख ११ हजार ४८० रुपैयाँ संरक्षण रकम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

     वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन भएको आमाबुबाविहीन संरक्षण कार्यक्रमका लागि मन्त्रालयले प्रतिव्यक्ति २ हजारका दरले वार्षिक एकमुष्ठ रकम पठाउनुपर्नेमा यस आर्थिक वर्ष २०८०÷०८१ मा ७२ हजार रुपैँयाँमात्रै पठाएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सुशीला राईले  जनाउनुभयो । उहाँको अनुसार, प्रदेशबाट पठाएको रकम अपुग भएपछि पालिकाले १ लाख ३९ हजार ४८० रुपैयाँ थपेर आमाबुबाविहीन बालबालिकालाई रकम  वितरण गरेको हो ।

     सामाजिक सुरक्षा भत्तासम्बन्धी कार्यविधिअनुसार स्थानीय तहले आवश्यक कागजात समयमै नपठाउँदा केही पालिकामा बजेट कम पुगेको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चैत मसान्तसम्ममा प्रदेशका सबै पालिकालाई आवश्यक कागजातको माग गरिएको थियो । तर, केही पालिकाबाट निर्धारित समयमा कागजात नआइपुगेकाले बजेट कम पुगेको हो । यसमा स्थानीय तहको पनि दायित्व रहन्छ । यस कार्यक्रमलाई अपनत्व लिएर काम गर्नुपर्ने हुन्छ । प्रदेशबाट पालिकालाई कम बजेट गएको अवस्थामा स्थानीय तहले नै अपुग रकम थपेर दिनुपर्ने प्रदेशको कार्यविधिमा उल्लेख छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्