संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले प्रशासनिक संयन्त्र, निजामती ऐन तथा अन्तर समन्वयलाई प्रभावकारी बनाउने प्रयत्न जारी राखेको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको चालू आ.व .२०८०÷०८१ को तेस्रो त्रैमासिक अवधिसम्मको प्रगती समिक्षा एवं संघ, प्रदेश तथा स्थानीय स्तरमा प्रवाह हुने सेवा र विकास निर्माणको गुणस्तर अभिवृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई आइतबार धुलिखेलमा सम्बोधन गर्दै मन्त्री जोशीले संघीय निजामति ऐन नआएसम्म कर्मचारी व्यवस्थापन गर्न सकिने अवस्था नभएको भन्दै संघीय, प्रदेश मन्त्रीका सचिवालय देखि स्वार्थमा सरुवा गर्दा समय भन्दा अगावै कर्मचारी सरुवा गर्नुपर्ने बाध्यता आइलागेको उल्लेख गर्नुभयो । कार्यक्रमका सभापति एवं जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले विकास निर्माण गर्ने जनप्रतिनिधीको हुटहुटी पुरा गर्न कर्मचारीले साथ दिनुपर्ने धारणा राख्नुभयो । जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङले त्रैमासिक समिक्षाले सार्वजनिक सेवा प्रवाहमा सुधार हुनुका साथै सुशासन र समृद्धीमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बागमती प्रदेशका सचिव हुमकला पाण्डेले संघीयतापछि समायोजन भएका कर्मचारीको वृद्धि विकास र व्यवस्थापन हुन नसकेको स्विकार्दै समयमा नै कानून बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, पनौती नगरपालिका उपप्रमुख गिता बञ्जारा, काभ्रेका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा,नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । जिल्ला समन्वय अधिकारी दिवाकर भुजेलले जिल्लास्थित सरकारी कार्यालयको चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधीको समिक्षा प्रस्तुत गर्नुभएको थियोे ।
प्रविधि मैत्री र बालकेन्द्रत शिक्षण सिकाई नै हाम्रो सफलता हो
