IMG-LOGO

नमोबुद्ध र रोशीको संयुक्त प्रयास संयुक्तरुपमा आइसोलेसन केन्द्र चलाइने

 मंगल, बैशाख २१, २०७८  ---

भकुण्डेबेशी-महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारीविरुद्ध जुध्न नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाले संयुक्त प्रयास सुरु गरेका छन् ।
दुबै पालिकाबीच सहकार्यमा आइसोलेसन सञ्चालनको सहमति भएको छ । आज भएको छलफलपछि अब नमोबुद्ध नगरपालिकाले आइसोलेसन स्थापना गरेको जनक क्याम्पसमा रोशी गाउँपालिकासँगको सहकार्यमा आइसोलेसन कक्ष विस्तार गरिनेछ । दुबै पालिकाबीच अक्सिजन र पूर्वाधार एवं सुविधाको व्यवस्थासहित ४० शैयाको आइसोलेसन सञ्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । यसअघि नमोबुद्ध नगरपालिकाले अक्सिजनसहित २५ शैयाको आइसोलेसन स्थापना गरेको थियो ।
अब दुबै पालिका मिलेर ४० शैयाको आइसोलेसन बनाउनेछन् र आइसोलेसन आवश्यक पर्ने दुबै पालिकाका कोभिड-१९ का बिरामी उक्त आइसोलेसन केन्द्रमा राखिनेछ । सम्झौतापत्रमा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले हस्ताक्षर गरेका छन् । दुबै पालिकामा रहेका सीमित जनशक्तिलाई संयुक्त र एकीकृत ढंगबाट परिचालन गर्दै कोभिड-१९ विरुद्धको अभियानलाई प्रभावकारी बनाउन र आइसोलेसनमा बस्नुपर्ने बिरामीको सेवा थप प्रभावकारी बनाउन दुई पालिकाबीच सहमति गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बताए ।
सहमतिअनुसार आइसोलेसनमा दुबै पालिकाबाट एक एक जना चिकित्सक आलोपालो हुनेगरी खटिनेछन् भने कोभिड १९ का बिरामीको संख्याको आधारमा दुबै पालिकाबाट स्वास्थ्यकर्मी खटाइनेछ । यस्तै आवश्यक भौतिक पूर्वाधार जस्तै शौचालय, स्वाब संकलन बुथ, स्थान गृह/हात धुने स्थल लगायतको अस्थायी रुपमा निर्माण गर्न प्राविधिक लागत अनुमान तयार गरी दुबै पालिकाले आधा-आधा खर्च व्यहोर्ने गरी निर्माण गर्ने, आईसोलेसन सेन्टरको वरपरको सरसफाईको लागि एक जना सरसफाईकर्मीको व्यवस्था गर्ने रसरसफाईकर्मीको न्यूनतम पारिश्रमिक दुबै पालिकाबाट आधा/आधा व्यहोर्ने सहमति भएको छ ।
आईसोलेसन सेन्टरमा रहेका कोरोना भाईरस (कोभिड-१९) बाट संक्रमित व्यक्तिहरुको लागि आवश्यक पर्ने खाद्यान्न सामाग्रीहरु, खाना/खाजा खर्च तथा अन्य खर्चको व्यवस्थापन संक्रमित व्यक्तिहरुको संख्याको मूल्यांकन गरी अनुपातिक ढंगले दुबै पालिकाले व्यवस्थापन गर्ने सहमति पनि दुबै पालिकाबीच भएको छ । आइसोलेसन केन्द्रमा दुबै पालिकाका सम्वन्धीत वडाअध्यक्षको सिफारिसमा बिरामी राख्ने सहमति पनि भएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्