रोशी गाउँपालिकाको भूमीचुलीडाँडामा भ्यू टावर निर्माण हुने भएको छ । बागमती प्रदेश सरकारका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री अरुण नेपालले गत मंगलबार भ्यू टावरको शिलान्यास गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले स्वेदेशमै रोजगारी सृजना गर्नका लागि प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो । उहाँले अग्ला डाँडाहरुमा टावर निर्माण गरेर मात्रै समृद्ध नहुने बताउँदै टावर निर्माणसँगै अन्य पूर्वाधार, आयआर्जन बृद्धी,व्यवसायिक कृषि खेति र अन्य उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । संघिय सांसद् गंगाबहादुरदोङ्गले संघ सरकारले विनियोजन गरेको बजेटको सदुपयोग हुनुपर्ने भन्दै विकासमा अवरोध र असहयोग नभई बजेटको सदुपयोग हुनुपर्ने धारणा राख्नुभयो । प्रदेश सांसद् चन्द्र लामाले नेकपाको चुनावी घोषणापत्र अनुरुप काम गर्न तयार रहेको भन्दै डाँडापारी क्षेत्रको विकासमा प्रदेश सरकारल विशेष योजना ल्याएको बताउनुभयोे । । प्रदेश सभा सदस्य रत्न ढकालले बुद्ध सर्किट निर्माण भ्यू टावर निर्माण समृद्ध यात्राको बाटो भएकाले यसमा सबैको सहयोग आवश्यकता रहेको उल्लेख गर्नुभयो । २ करोड ६१ लाख २३ हजार रुपैयाँ लागतमा पर्यटकीय पार्क समेतको भ्यू टावर निर्माण शुरु गरेको कार्यक्रममा आयोजना प्रमुख विष्णु भण्डारी, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत डम्मरु दाहाल, नेकपा नेताहरु इन्द्र तामाङ र डिल्ली रेग्मी, वडा अध्यक्ष जनम तामाङ लगायतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । रोेशी गाउपालिका ९ का वडा समिति सदस्य मेगबहादुर लामाले स्वगत मन्तव्य राख्नुभएको कार्यक्रममा साधुराम राना मगरले भुमिचुलिको इतिहास राख्नुभएको थियो भने मगर समुदायको सस्कृति झल्कने नाचगान समेत प्रस्तुत गरिएको थियो ।
