किशोर किशोरी तथा युवाको यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सम्बन्धी एक दिने जिल्ला स्तरीय कार्यशाला गोष्ठी गत मंगलबार धुलिखेलमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यता एवं आयोजक संस्था वियोण्ड वेइजिङ कमिटी नेपालकी अध्यक्ष सुशिला श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले किशोरीहरुका लागि सेनेटरी प्याड निःशुल्क वितरण गरिनुपर्ने र यसका लागि सबै पालिकाले हातेमालो गर्दै सेनेटरी प्याड आफै उत्पादन गर्नुपर्ने धारणा राख्नु भएको थियो । पूर्व सांसद शिला कतिलाले किशोर किशोरीहरुको स्वास्थ्य र अधिकार सम्बन्धमा सबै सरोकारवालहरुले ध्यान दिनुपर्ने बताउनुभयो । बनेपा, धुलिखेल, पनौती, पाँचखाल, रोशी , नमोबुद्ध र बेथानचोकमा केन्द्रीत भएर संस्थाले विभिन्न कार्यहरु गर्दै आएको छ । विभिन्न सरकारी स्कूलमा महिना सम्बन्धी सचेतना, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यहरु भइरहेका छन् । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, नमोबुद्ध नगरपालिका प्रमुख कुञ्साङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार, बेथानचोक गाउँपालिका उपाध्यक्ष ताराराना मगर लगायतका जनप्रतिनिधिहरु उपस्थित थिए । कार्यक्रममा रोशी गाउँपालिकाले महिला तथा बालबालिका शाखाको गतिविधि, बेथानचोक गाउँपालिकाले शिक्षा शाखाको गतिविधि र धुलिखेल नगरपालिकाले स्वास्थ्य शाखाको गतिविधिको प्रस्तुतीकरण गरेका थिए । आयोजक संस्था वियोण्ड वेइजिङ कमिटी नेपालले महिला मानव अधिकारको क्षेत्रमा क्रियाशिल भई काम गरिरहेको छ । कार्यक्रमको समन्वय गर्ने महिला जागरण समूहकी कार्यालय प्रमुख भवानी श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन महिला अधिकारकर्मी निर्मला श्रेष्ठले गर्नुभएको थियो ।
