काभ्रेको पत्रकारिता क्षेत्रमा बिष्णु चौलागाईंको अलग पहिचान थियो । कोरोना कहरले महामारी लिएको बेला निर्दयी काल बनेर हामीबाट बिष्णुलाई सदाका लागि लग्यो । कोरोना संक्रमण हुनासाथ उनले फेसबुकमा स्टाटस लेख्दै पोष्ट गरेका थिए कि गतसालको चैत्र महिनादेखि कोभिड १९ देखि जोगिएरै काम गर्दागर्दै यहीं असौज २७ गते एक्कासी ज्वरो आयो । जँचाउन अस्पताल गए । पिसिआर टेष्ट पोजिटिभ आईदियो । काभ्रेका डाक्टर झा सरलाई रिपोर्ट पठाएर डा सापकै सल्लाह मा औषधी चलाएको छु । शरीर चाहिँ धेरै दुखेको छ । अन्य अवस्था सवै सामान्य नै छन । तपाईंहरुको अथाहा मायाले म छिट्टै निको भएर काममा फर्कने छु । तपाईंहरुको माया नै मेरो आत्मवल वढाउने औषधी ठानेको छु । यस्तो लेख्ने उनले सजिलैसँग कोरोनालाई जित्लान भन्ने मलाई लागेको थियो तर बिडम्बना मृत्युको अन्तिम सत्य स्वीकारनु हामी बाध्य भयौं । त्यति हठ्ठाकठा शरीर भएको मान्छेलाई पनि कोरोनाले कसरी लल्कारदो रहेछ थाहा भयो । कोरोना भाइरस सामान्य रुघाखोकी जस्तो होइन । बेसार पानी खाएर हाँच्छिउ गरेर पचाइदिने जुन ठट्टा थियो त्यो झुठो प्रमाणित अहिले भइरहेको छ । बिष्णुको मृत्युसंगै हामी झन सचेत भएका पक्कै होलाआंै । जे नहुनु थियो त्यो भैगयो । शोकाकुल परिवारजनमा पिडा र दःुखमा छन् ।हामीले शोकलाई शक्तिमा बदल्दै उनलाई स्मरण गर्नु बाहेक अर्को कुनै उपाय छैन । बिष्णुसँग मेरा धेरै तिता–मिठा कयौं स्मृति छन् । जुन वृतान्त लेख्ने हो भने एउटा किताब नै बन्न सक्छ । यो सानो स्पेसमा म बिष्णुलाई नसम्झिरहन सकिन । पहिलो र अन्तिम भेटलाइ लिपिबद्ध गरेको छु । बिष्णुलाई सम्झने बित्तिकै म एउटै टुंगोमा पुग्छु कि उनको दाहिने आँखा जहिले पनि बिज्ञापन देख्थ्यो भने देब्रे आँखाले कोशीपारी । उनको र मेरो पहिलो भेट नेपाल पत्रकार महासंघ काभ्रेको प्रथम अधिवेशनमा भएको थियो । उनलाई तत्कालीन सभापति यादव थपलियाले सदस्य बनाएका हुन् । उनी काभ्रे प्रति माया गर्थे र काभ्रे टाइम्समा तीन वर्ष २०५४ चैत देखि २०५७ जेठ सम्म कार्यरत रहँदा उपत्यकाबाट बिज्ञापन संकलनका साथै मैले भने बमोजिम रमाइलो मंगलबारमा विभिन्न कलाकार ब्यक्ति ब्यक्तित्वका अन्तरवार्ता ल्याउने र पत्रीका वितरण गर्ने महत्वपूर्ण काम गरेका थिए । २०५६ सालमा नेपाली काङ्ग्रेसले काभ्रेको दुई क्षेत्रबाट चुनाव जितेपछि हौसला बढ्यो । काभ्रे टाइम्समा काम गर्दा बजार र धेरैसङ्ग सम्पर्क स्थापित गरिसकेका थिए खासमा राजेन्द्र खरेललाई प्रभावमा लिएर काभ्रे पोष्ट निकाले । मैले पनि त्यो बेला भाइको सत्रु भाइ नै हुन्छ भन्ने स्वीकार्दै उनले निकाल्दै गरेको पत्रिकाको समाचार र काभ्रे पोष्ट बजारमा आउँदैछ भन्ने बिज्ञापन छापिदिए । जो अहिले पनि प्रमाणका रूपमा काभ्रे टाइम्स छ । नेकपा एमालेलको निर्देशनमा प्रकाशनमा आएका जन–प्रतिष्ठा र चेष्टाले जति काभ्रे टाइम्सलाई प्रतिस्पर्धा गरे पनि केही फरक नपरेको काभ्रे टाइम्सका इश्वरी ओझा र बजार प्रतिनिधि रामशरण खरेललाई काभ्रे टाइम्सबाट बिष्णुले लगे पछि काभ्रे र काठमाडौंमा ठुलो प्रभाव प¥यो । छपाई पनि उनले काभ्रे टाइम्स छाप्ने एउटै प्रेसमा गरेका थिए । पत्रिका पनि आइतबार त्यसैले काभ्रे टाइम्सले २०५७ असार देखि २०५९ असोज १८ सम्म नराम्रो धक्का बेहोर्दै अघि बढेको थियो । त्यो अवधिमा एउटा कुरा चाही काभ्रे टाइम्सले राम्रो ग¥यो हामीले कुनै पार्टीको ट्याग भिर्नु परेन पाठकले चिने । अरु पत्रिका आफै स्वघोषित थिए । जब बिष्णुले काभ्रे पोष्ट प्रकाशनमा ल्याए मैले कुनै मतलब राखिन । उनको पत्रिका निस्कनु अघि हरेक मंगलबार काठमाडौंको भूगोलपार्कमा पत्रिका बितरण गरे पछि उनकै अनुरोधमा उनकै रातो स्पेल्नडर चढेर हामी लक्ष्मीदिदीको होटेल बानेश्वरमा मन्त्री राजेन्द्र खरेललाई भेट्न पुगिन्थ्यो । उनको पत्रिका निस्केपछि मैले कोही कुनै काङ्ग्रेस होस वा सत्तामा रहेका कसैलाई भेटिन बरु काङ्ग्रेसले गरेका त्यो बेलाका गल्तीहरु निडरता पूर्वक छापे । म बिष्णुबाट टाढा रहे उनले मलाई पछ्याउन भने छोडेनन । गाली गर्दा पनि मंगलबार बिहान टुप्लुक्क भूगोलपार्क आइपुग्थे र भन्थे आर एल सर यति बिघ्न घृणा त नगर्नुहोस् । म भन्थे छोड यार तिमी तिम्रो काम गर म मेरो काम गर्छु । होइन आर एल सर तपाईंलाई मन्त्री राजेन्द्र खरेलले बोलाउनु भएको छ । जाऔ न म लिन आएको । मैले बेसमारी झपार्दै भने तिम्रो पार्टीको मन्त्री हुन मलाई के मतलब ? म राजेन्द्र खरेलकोमा जादै गइन । एक दिन मन्त्री क्वाटरबाट समिर ब्यान्जुले फोनमा भने राजेन्द्र दाइले बोलाउनु भएको छ मैले त्यो पल्ट पनि बहाना बनाउदै भेट्न अस्वीकार गरिदिए । २०५७ को दशैमा मन्त्री राजेन्द्र खरेलको एक हजारको शुभ–कामना बिज्ञापन लिएर मलाई भेट्न बिष्णु बनेपा आए । बिज्ञापन छापिदिए तर पैसा लिन बोलाउँदा पनि गइन । एक दिन रत्नप्रसाद लुइँटेलदाइले फोन गरेर भन्नु भो किन रिसाउनु भएको भाइ आउनुहोस् भने पछि म लक्ष्मी होटलमा एक बर्ष पछि गएको थिए । राजेन्द्र खरेलले गला लगाउनु भो संयोग बिष्णु त्यही थिए सबै देखे मेरो प्रसंशा भयो राजेन्द्र खरेलले दुबै मिलेर अघि बढ्न सल्लाह दिए र हरेक हप्ता काभ्रे टाइम्स बानेश्वरमा किनेर पढेको कुरा भयो । मैले बिष्णुकै सामु बिष्णुले मेरो अनुपस्थितिमा गरेका गल्ती बताइदिए । मलाई आफ्नै मित्र एग्रो चलाउन भ्याइनभ्याई छ म कोही कसैकोमा दुई हात जोडन्न भनिदिए । हुन पनि दुई दिन पत्रिकामा खट्थे तर जति पल्ट बिष्णुलाई मेरो पिछा छोड्नु भन्दै अनेक गाली दिन्थे तर मेरा गाली उनी सजिलै पचाउँथे यो नै मैले कहिल्यै नबिर्सने उनको सम्झना हो । उनी हँसिलो मिजासका थिए । बाहिर जे देखिन्थे भित्र पनि त्यँही थिए । राजा वीरेन्द्रबाट २०५७ पुस १४ गते सितल निवासमा पत्रकार ब्यापारी र अन्य गन्यमान्यलाई दर्शन भेट दिने निम्तो आएको थियो त्यो बेला बिष्णुसंगै म पनि दौरा सुरुवाल लगाएर सितल निवास गएको थिए । त्यो बेला विनम्रता पूर्वक मलाई भनेका थिए हामी छुट्टीनु हुन्न है सर तर मैले स्वीकार गरिन उनले मलाई फेरि पनि पछ्याउन छोडेनन । जब २०५९ असोज १८ गते राजाले प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरेपछि काभ्रे टाइम्सले प्रतिगमनको खुलेर बिरोध ग¥यो त्यस पछि मात्र बजार र पाठकमा काभ्रे टाइम्ससंग काभ्रे पोष्टको सबै प्रतिस्पर्धा सदाकै लागि निस्तेज भो । त्यस पछि बिष्णु म बाट टाढा रहे तर फोन गरिरहन्थे । एउटा स्मरण अझै ताजा छ । भर्खरै पोष्ट पेड मोबाइल आएको थियो उनी एक पल्ट बनेपा आएका बेला हंसराज सपिङ्ग नजिकै रहेको भोजराज तिमल्सिनाको कम्युनिकेशन सेन्टरमा भोला थापाले एउटै कोठामै बसेर उनलाई उल्लीबिल्ली गर्दै फोन गर्दा म हाँसो ँसहन नसकेर टेबुल मुनि लुकेर हाँसेको हिजो जस्तो लाग्छ । उनी आफुले नजानेका कुरा स्वीकार्दै भन्थे मलाई यस्तो गर्न आउँदैन त म के गरुँ ? जे भए पनि बिष्णु मनमा कालकुट बिष लिएर बस्ने ब्यक्ति थिएनन् । समग्रमा भन्दा उनी बिज्ञापनमा सक्रिय । पेशाले बिज्ञापन लिन जान्ने माहिर ब्यक्ति थिए । जस्तोलाई त्यस्तै गरी फकाउँथे त्यो कला मसँग छैन । हुन त उनी राजनीतिक मान्छे होइनन् तर पछिल्लो पल्ट उनी र खगेन्द्र भण्डारी रमा दाहाल एमालेमा गए भन्ने कुरा थाहा पाए । पत्रकार पत्रकार नै भएर बाँच्न सक्छ किन जानुपर्ने होला राजनीतिक पार्टीमा ? यो कित्ता र उ कित्ताको शुरूवात नेपाली काङ्ग्रेसले प्रेस युनियनको स्थापना गरे लगत्तै एमालेले पनि प्रेस चौतारी खोलेर भएको हो । पत्रकारिताबारे म जुन मुलुक पुग्थे त्यहाँ हाम्रो नेपालको जस्तो अवस्था हुन्छ भनेर सोधपुछ अझै गर्छु । मिडियाहरु हुन वा पत्रकार हाम्रो जस्तो राजनीतिक पार्टीको भगिनी संस्था बनेको अवस्था विश्वमा मैले कहिँ कतै भेटिन । बिष्णु यति छिटै जाने रहेछन् त पहिला कै अवस्थामा बाँचेका भए नि भैहाल्थो नि जस्तो लाग्छ मलाई । उनको मेरो कुराकानी म्यासेन्जरमा हुन्थ्यो । गाडी किनेको छु सर तपाईं नेपाल आउँदा म लिन आउछु भन्थे, तर अन्तिम सत्य उनी हामी बीच रहेनन । यी हरफ लेख्दै गर्दा उनको मेरो अन्तिम भेट २०७५ को फागुनमा नेपाल पत्रकार महासंघ काभ्रेले आयोजना गरेको धुलिखेलको एक अन्तरक्रिया कार्यक्रममा भएको थियो ।त्यही भेट नै अन्तिम भेट भएछ । उनी अझै छन् जस्तो लाग्छ । फेसबुकमा पोष्ट भएका उनको मृत्युको खबर सपना झैं लाग्छन् त्यसैले हार्दिक श्रद्धाञ्जली लेख्ने मन छैन । साँच्चिकै बितिसकेका हुन त बिष्णु ? होईन उनी सम्झनामा छन् । हार्दिक श्रद्धा सुमन । शोकाकुल परिवारजनमा गहिरो समवेदना ।
