नेपाल प्रेस युनियन काभ्रेको छैठौ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्य, केन्द्रीय प्रतिनिधी र प्रदेश प्रतिनिधीको पदस्थापन शनिवार सम्पन्न भएको छ । निर्वाचन समितिका संयोजक पुष्पराज थापाले प्रमाणपत्र प्रदान गरेको कार्यक्रममा निवर्तमान जिल्ला अध्यक्ष कपिल कोइरालाले नवनिर्वाचित अध्यक्ष नगेन्द्र अधिकारीलाई निर्णय पुस्तिका हस्तान्तरण गरी पदस्थापन गराएका थिए । नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाको प्रमुख आतिथ्यता एवं प्रेस युनियन काभ्रेका अध्यक्ष नगेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट जिल्ला समन्वय समितिमा निर्वाचित उपप्रमुख रिमबहादुर तामाङ, रोशी गाउँपालिका अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य भगवान अधिकारी, बेथानचोक १ का वडाअध्यक्षमा निर्वाचित प्रेस युनियन काभ्रेका निवर्तमान सचिव मधुसुदन तिमल्सिना, मण्डनदेउपुर–११ को अध्यक्षमा निर्वाचित प्रेस युनियनका सदस्य दिपेन्द्र लामालाई सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले आफ्नो कमजोरी बाहिर ल्याउन अनुरोध गर्दै आलोचनात्मक समाचार लेख्न सञ्चारकर्मीहरुलाई अनुरोध गरे। उनले पार्टीको शुभेच्छुक संस्था भएपनि पार्टीले गल्ती गरे त्यसका बारेमा पनि समाचार लेख्न अनुरोध गर्दै उनले पत्रकारिताको धर्म अनुसार काम गर्न सबैमा अनुरोध गरे। कार्यक्रममा नेपाल प्रेस युनियनका उपाध्यक्ष इश्वरी ओझा, नेपाली कांग्रेस काभ्रेका नेता अच्युत पौडेल, नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेशप्रसाद हुमागाई, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष भोला थापा, नेपाल प्रेस युनियन काभ्रेका पूर्वअध्यक्ष नारायण सापकोटा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बदिराज तिमल्सिना, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर काभ्रे अध्यक्ष रोजन तामाङ, समाजवादी प्रेस संगठन काभ्रे अध्यक्ष सन्तोष चौलागाई लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
