बनेपा नगरपालिकाले फुटपाथको अवरोध हटाउने अभियान आइतबारबाट फेरी शुरु गरेको छ । दिर्घकालिन रुपमा नगर सरसफाई तथा फुटपाथ सदुपयोग सचेतना अभिवृद्धि कार्यक्रममा सहभागी नगर प्रमुख शान्तिरत्न शाक्यले नगरलाई स्वच्छ र हराभरा बनाउन निर्वाचित भए देखि नै कार्य प्रारम्भ गरेको जानकारी दिनुभयो । व्यवस्थित, सुन्दर बनेपा नगरपालिका बनाउन सम्पूर्ण नगरवासिको कर्तव्य हुने भन्दै उहाँले सबैको साथ र सहयोगको अपेक्षा गर्नुभयो । उपप्रमुख विमला सापकोटा दाहालले नागरिकहरुलाई सहज रुपमा आवतजावत गर्न र नगरलाई स्वच्छ राख्ने दायित्व पुरा गर्न फुटपाथ अवरोध हटाउने कार्यले प्राथमिकता पाएको उल्लेख गर्नुभयो । साउन १ गते आइतबारबाट हटाइएको फुटपाथ अवरोध गर्नेलाई कानून अनुसार कारवाही गर्ने र नियमित अनुगमन हुनेछ । यसैगरी बनेपा नगरपालिकाले आइतबार बाटै घर पसलबाट निस्कने कुहिने र नकुहिने फोहोर बर्गिकरण गरेर मात्र सकंलन गर्ने जानकारी गराएको प्रमुख प्रशासकिय अधिकृत प्रकाश आचार्यले बताउनुभयो । अभियानमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुरक्षा टोली, जनप्रतिनिधी, उद्योगी ब्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
