नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत काभ्रे जिल्लाका १३ पालिका र १३५ वडा मध्ये महाभारत गाउँपालिका बाहेक सबैमा कांग्रेसको स्थानिय अधिवेशन सम्पन्न भएको छ । काभ्रे कांग्रेसका सभापति मधु आचार्य र नेका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईको वडा स्तर देखि नै दुई प्यानलमा विभाजित भएर प्रतिष्पर्धामा उत्रिएका थिए । अधिवेशनको निर्वाचन नतिजाले काभ्रे कांग्रेसको गाउँ र नगरपालिकामा शिव हुँमागाई पक्ष निर्णायक देखिएको छ । सभापति मधु आचार्यको प्यानल कमजोर मात्र होइन राजनीतिक रुपमा असफल नेतृत्व देखिएको छ । हुन त नेपाली कांग्रेस पार्टी केन्द्रमा स्थापना देखि नै कहिले दुई धार कहिले तीन धारमा देखिदै आफ्नो विराशत धानिरहेको छ । नेपाली कांग्रेस पहिला भन्दा अहिले केन्द्र देखि गाउँ इकाईसम्म विचारमा भने भुत्ते देखिन्छ । मास पार्टी भएका कारण हिजो देखि क्याडर वेसमा भन्दा पनि हा–हा र हो–हो मा कांग्रेस चलेको छ ।
नेपाली कांग्रेस पार्टीमा तीन थरिका मान्छेहरुको आकर्षण छ । पहिलोः पिता पुर्खा देखि नेपाली कांग्रेसमा लागेका, दोस्रोः कम्युनिष्टहरुलाई मन नपराउनेहरु, तेस्रोः अवसरवादी तथा यताउती पार्टी प्रवेश गर्ने (आयाराम गयारामहरु) । यसरी नेपाली कांग्रेस पार्टीमा तलदेखि माथिसम्म कांग्रेसजनहरु गोलबद्ध छन् । नेपाली कांग्रेसमा लागेका नेपालीहरु स्वदेशमा मात्र होइन विदेशमा पनि त्यहि हाल छ । नेपाली कांग्रेसलाई सबैभन्दा हानी नोक्सानी माथि उल्लेख गरेका मध्ये तेस्रो पक्षले गरिरहेका छन् । र फाइदा पनि तिनिहरुले उठाइरहेका छन् । कांग्रेसलाई मिल्न नदिने पनि तेस्रो थरिका कांग्रेस हुन ।
कम्युनिष्टहरुको (नेकपाको) दुई तिहाईको सरकार असफल भएपछि नेपाली कांग्रेस प्रतिको आकर्षणमा नवजवानहरुलाई काभ्रे कांग्रेसले त्यति संगठित गरेको देखिएन । हुन त पहिला देखि नै ठूला व्यापारी, पढेलेखेका विद्वानहरु, प्रध्यापक, डाक्टर, शिक्षक, पत्रकार र विद्यार्थीको आकर्षण नेपाली कांग्रेसप्रति भए पनि शिद्धान्तको प्रशिक्षण दिने काम कांग्रेसमा छँदै छँैन् । कम्युनिष्टलाई पराष्त गर्ने लक्ष्य र योजना काग्रेसमा पहिले देखि छैन र केहि कांग्रेसिजन बाहेक इतिहासको अध्ययन सबैमा छैन । महामानव विपि कोइरालाको साहित्य, उनको जीवनीका साथै कांग्रेसको राजनीति दर्शन बारेमा कांग्रेसीजन प्रशिक्षित छैनन् । सर्वाेच्च नेता गणेशमान सिंहको त्याग, संस्थापक नेता कृष्णप्रसाद भट्टराईको निष्ठा, सरलता बारेमा कमै मात्रलाई थाहा छ । कांग्रेसको आदर्श, सिद्धान्त, मात्र भए पनि नवजवानलाई सिकाउन सके नेपाली कांग्रेसलाई कसैले पराष्त गर्न सक्दैन थियो तर काग्रेस आफू आफूमा विना सित्ती लडिरहेका छन् । स्थानिय चुनाव र आम चुनावमा कांग्रेसले पार्टी भित्र अन्तरघात गर्दा नेपाली कांग्रेस हारेर कम्युनिष्टहरु जित्छन् । ३ सय ६४ दिन कांग्रेस बनेकाहरु कांग्रेसकै रिसले एक दिन कम्युनिष्ट वा अन्य पार्टीमा लागेर भोट हाल्दा कांग्रेस हार्दै आएको छ । यसरी नेपाली कांग्रेस पार्टी ७ दशकदेखि चलिरहेको छ । चुनावले एक र अर्को पक्ष विच सौवार्दता भन्दा ध्वसं गर्दै कांग्रेस पछि परेको हो ।
पटक पटक भएका लोकतान्त्रिक आन्दोलनमा काग्रेसले दिएको आफ्नै नेतृत्वलाई नेपाली कांग्रेसले जिम्मेवारी नलिदाँ कांग्रेस कमजोर भएको हो । हालै कम्युनिष्टको सरकार ढलेर वर्तमान सरकारको नेतृत्व गरिरहेको कांग्रेस कुहिरोको काग झै बनेको छ । पार्टी अस्तव्यस्त छ । कांग्रेसका क्रियाशिल सदस्य २० लाख पुगे पनि बलियो र सशक्त पार्टी बन्न सकेको छैन् । नेपाली कांग्रेस केन्द्रमा आफ्नै भित्रको देउवा र पौडेलको लडाई छ । यता काभ्रे जिल्लामा मधु आचार्य र शिव हुँमागाईलाई जिन्दगिभर जोड्न नसकेको कांङ्ग्रेस पार्टीको नारा चैं सबै अट्ने देश ,सबैलाइ जोड्ने कांङ्ग्रेस भनेर कुर्लानुको के अर्थ हुन्छ र ? पार्टी गतिबिधिका काम आ–आफ्नो समितिमा गोप्य राख्नु पर्छ र कामलाई पारदर्शी बनाउन कांग्रेसले नजान्दा साथै अन्तरघातीलाई पार्टीबाट ननिकाल्दा बिगतमा कम्युनिष्टबाट पराजित भएको हो ।
मधु आचार्यको नेतृत्व अन्तिम अवस्थामा पुरै असक्षम देखियो, शिव हुमागाईको ट्रिकलाई मधु पक्षले जान्न सकेन । हुमागाई पक्षले क्रियाशिल सदस्यता भरमार वितरण गरेको थाहा पाउन सकेन, पार्टी कब्जा गर्ने रणनीति थाहा पाउन सकेन । थाहा पाएर पनि नथाहा पाए जस्तो गरिदिदा हुमागाई पक्षले आफू इतरलाई सोत्तर बनाउन सकेको हो । हुमागाईको चाललाई फिट्टीकै बुझ्न मधु पक्षले सकेन । यति की गाउँ र नगर अधिवेशनको अघिल्लो दिन केन्द्रबाट खटिएका निर्वाचन अधिकृत राजेन्द्र लामिछाने वेपत्ता भएको भोलि ९ गते हुने पालिका स्तरको अधिवेशन स्तगित भनेर फेसबुक लाइभ र स्टाटस लेख्दा झनै मधुको राजनीति सुझबुझ नभएको र अपरिपक्क देखिएको कुरा आचार्य निकट कांग्रेसजनहरु नै बताउँछन् । फेसबुक लाइभले पार्टी संगठनको आन्तरिक कुरा सर्वसाधारण सम्म छताछुल्ल पुग्ने गरी उदांगियो । यी कारणलले पनि शिव हुमागाई पक्ष पालिका स्तरमा सजिलै जित्न सफल भए । नेपाली कांग्रेस काभ्रेमा शिवहुमागाई निर्णायाक भएका छन् । हिजो पनि मधु आचार्यलार्य सभापति बनाउने शिव हुमागाई ठूलो भुमिका थियो । मधु र शिव मिल्नु पर्ने थियो तर मिल्न सकेनन् । शिव हँुमागाई हिजो भन्दा अब झन शक्तिसाली भएर आएका छन् । उनले आफूले जसलाई चाहेका हो त्यसैलार्ई जिल्ला सभापति बनाउने मात्र होइन । आगामी दिनमा हुने स्थानिय, प्रदेश र संघिय (केन्द्र) चुनावमा टिकट बाढ्ने काममा पनि शिव हुमागाई हावी हुने निश्चित छ ।
