काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको कार्य ढिलाई प्रति नेपाली कांग्रेस काभ्रे प्रतिनिधिसभा क्षेत्र नं ३ का सभापति एवं पूर्वराज्य मन्त्री कञ्चनचन्द्र बादेको नेतृत्वमा गएको टोलीले आपत्ति जनाएको छ । बुधबार बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मीनर सिं बादेसँग कांग्रेसका प्रतिनिधिहरुले एकिकृत खानेपानी आयोजनामा भइरहेको प्रगति र आएका अबरोधका बारेमा छलफल गरेको थियो ।
डेलिगेसनमा गएका प्रतिनिधिहरुलाई नगर प्रमुख बादेले १÷२ महिना भित्र नै खानेपानी आउने आश्वासन दिनुभयो । बनेपा नगरपालिकाका नगर प्रमुख बादेले आगामी चण्डेश्वरी जात्रामा खानेपानी खुवाउने गरी काम भइरहेको बताउनुभयो । पूर्व मन्त्री बादेले कांग्रेसले जितेको समयमा शुरु भएको आयोजना किन ढिलाई भयो भन्ने बारे जानकारी लिन आफूहरु आएको बताउनुभयो । उहाँले बनेपाबासी खानेपानी खान आतुर रहेको बताउनु हुँदै नेपाली कांग्रेसबाट गर्नुपर्ने सबै सहयोग गर्न आफूहरु तयार रहेको जानकारी दिनुभयो । बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतीले नीतिगत तथा कानुनी समस्याहरु समाधान भइसकेको भन्दै अब छिट्टै नै नतिजा आउने र नगरबासीले शुद्ध खानेपानी पाउने बताउनुभयो । एकिकृत खानेपानी आयोजनाका प्राविधिक सल्लाहकार नरेन्द्र बरालले एकिकृत खानेपानीको काम ९७ प्रतिशत सकिएको बताउनुहुँदै विच्छाइएको पाइपमा प्रेसर जाँच र लिकेजको काम भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद कायस्थले सहजिकरण गर्नुभएको थियो । वि.सं. २०५६ सालमा बनेपा, धुलिखेल र पनौती नगरलाई खानेपानी खुवाउने गरी एशियाली विकास बैङ्कको ऋण सहयोगमा ६७ करोडको लागत लाग्ने अनुमान गरि सुरु गरिएको आयोजनाको अहिले ९९ करोड ८ लाख खर्च पुगिसकेको छ ।
