प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभा विघटन गरेकी छिन् । ओलीले सनकका भरमा संविधानमा नभएको अधिकार प्रयोग गरी असंवैधानिक काम गरेर देश र जनताप्रति अपराध गरेका छन् । प्रधानमन्त्रीको यो असंवैधानिक कदमलाई साथ दिएर राष्ट्रपति भण्डारीले पदको गरिमा मात्र घटाएकी छैनन् उनी पनि ओलीको कठपुतली सावित भएकी छिन् । ओलीको यो अलोकतान्त्रिक र स्वेच्छाचारी कदमको चौतर्फी विरोध भएको छ ।
हुन त प्रधानमन्त्री ओलीले जुन कदम उठाए,यसमा अचम्म मान्नुपर्ने कारण छैन । ओली शुरु देखि नै संघीयता, लोकतन्त्रको पक्षमा थिएनन् । त्यसलाई नै समाप्त पार्ने खेल यतिबेला भएको छ । नेपाली जनताले उनलाई लोकतान्त्रिक नेता,राष्ट्रवादी सोच्नु र भन्नु महामूर्खता थियो । उनले गणतन्त्रको उपहास मात्र गरेका छैनन्, गम्भीर संकटमा पुर्याइदिएका छन् । २०७४ मा बामएकता गर्नु उनको सत्ता स्वार्थ थियो । जनताले बामगठबन्धनलाई स्थिरता र स्थायित्वको लागि मत दिएका थिए । नेकपाको भारी बहुमत हुँदा हुदै ओली अहंकारले संकट उत्पन्न भएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष पुष्पकलम दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महा-अभियोगको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नु परेको कुरा हिजो बालुवाटारमा आफु समर्थित सांसदलाई बताए । उनले पार्टीका नेताहरुले काम गर्न नदिएका कारण नयाँ जनादेशमा जान परेको बताएका थिए। ’म कसरी अलोकतान्त्रिक भए, कसरी निरंकुस भए’, ’संसद विघटन गरेर अन्य कमद चालेको छैन। निर्वाचनमा जाउँ भनेर मिति घोषणा गरेको छु । निर्वाचन लोकतान्त्रिक विधि हो’, भेलामा उनले भने । जनताको बीचमा पुनः टेस्ट भएर आउन तयार हुन निर्देशन दिदै उपर्युक्त समयमा पार्टीको बैठक बोलाउने ओलीले बताए । संसद विघटनको कदम असंवैधानिक भन्नु गलत भएको उनले बताए । आफु पहिलो नम्वरको अध्यक्ष भएकोले कसैले कारवाही गर्ने भन्ने प्रश्न नआउने ओलीको भनाई थियो । पार्टीमा आफ्नो हस्ताक्षर नै वैध हुने उनको भनाई थियो । लगत्तै उनले देशवासीका नाममा पनि सम्बोधन गरेर त्यही कुरा भनेका थिए ।
प्रधानमन्त्रीको कदमले देशमा फेरि अस्थिरता उत्पन्न भएको छ । अब के हुन्छ भन्ने अन्योलता बढेको छ । सबैको ध्यान न्यायालय (सर्बोच्च अदालत ) तिर छ । अदालतको निणर्य पछि नै राजनीतिक बाटो स्पष्ट हुनेछ । आगामी बैशाख १७ र २७ गते चुनाव गर्न र हुन असम्भव छ किनभने मतदाता नामावली संकलन गरेको मितिले छ महिनाको समय लाग्छ । फेरि यो ओली सरकारले गराएको चुनावमा को सहभागी होला र ?
नेकपामा ओली इतर पक्ष र प्रतिपक्षी काङ्ग्रेसको आवाज एउटै भएको छ । देशका विभिन्न भागमा ओलीको यो असंवैधानिक कदमको बिरोध भएको छ । आइतबार नै बानेश्वरको बिरोधसभालाई सम्बोधन गर्दै काङ्ग्रेसका युवा नेता गगन थापाले भने (विद्यादेवी भण्डारीले राष्ट्रपति हुने हैसियत गुमाएको बताए । राष्ट्रपति भण्डारी आम नेपालीको राष्ट्रपति नभएर केपी ओली गुटको एक सदस्य मात्र भएको बताए ।
संविधान विरुद्धको अपराधका साझेदार तथा अपराधीहरुलाई लोकतन्त्रवादीहरुले ठेगाना लगाउनु पर्ने थापाले बताए । थापाले भने,’ संविधान विरुद्ध अपराध गर्ने अपराधी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई ठेगान लगाउँ । यहि राजनीतिक अस्थिरताको फाइदा उठाएर व्यवस्था विरुद्ध लाग्नेलाई पनि चिनौ ।’
लोकतन्त्रमाथि धावा बोल्ने केपी ओलीको आँट नेकपा नेताहरुको कारणले आएको थापाले बताए । प्रतिपक्षी दलका हैसियतबाट पटकपटक खबरदारी गरिरहँदा त्यसलाई वेवास्ता गर्ने माधव नेपाल र प्रचण्ड हुतिहारा हुँदा यस्तो अवस्था आएको उनले बताए। थापाले भने,’ केपी ओलीको कारणले मात्र आएको होइन माधव नेपाल र प्रचण्ड हुतिहारा भएर भएको हो । पहिला हाम्रो कुरा सुनेनन् अहिले हिसाव किताव नमिलेपछि आरोपपत्र लिएर आए । तर अब ढिला भइसकेको छ ।’
नेकपाका नेताहरुले आँट गरेकै भए संसदीय दलमा किन छलफलमा गएनन्, सचिवालय र स्थायी कमिटीमा नाममा किन अलमल गरिरहे भन्ने प्रश्न गर्दै थापाले वामदेव आइतवार साँझ सम्म पनि प्रधानमन्त्री पाइन्छ की भनेर नो कमेन्ट भनेर बसेपनि हिसाव किताव नमिल्ने भएपछि बल्ल मुख खोलेर बिरोध गरेको बताए । उनले भने, ‘सत्यको पक्षमा बोल्न नसक्ने र गल्तीलाई गल्ती भन्न नसक्ने नेकपाका नेताहरु कायर हुन ।’
थापाले कांग्रेस चुनावसँग नडराउने जनाउँदै तर असंवैधानिक कदमका विरुद्ध भने उभिनने बताए । चुनावसँग डराउने नभई मेरै क्षेत्रकी महारानी बनेकी विद्यादेवीलाई चुनाव लड्न निम्तो दिएको थापाले पुनः स्मरण गराए । उनले गलत काम रोक्ने सल्लाह दिन नसक्ने हुतिहारा सल्लाहकारसँग चुनाव लड्न कुनै अप्ठ्यारो नभए पनि ओलीको सनकको शिकार भएको संसदको पक्षमा रहेको बताए ।
विवादास्पद रुपमा संवैधानिक परिषदका नाममा आयोगहरुमा भएका कुनै पनि सिफारिस लागू नहुने थापाले बताए । कसैलाई संबैधानिक आयोगहरुमा नाम सिफारिस भएको लागिरहेको छ भने त्यो भ्रम नपाल्न सचेत गराउँदै थापाले भने संबैधानिक आयोगहरुमा सिफारिसको विधि हुन्छ । यदि कसैलाई म सिफारिस भए भन्ने लागेको छ भने त्यो संवैधानिक आयोग नभई त्यो केपी आयोग मात्र भएको थापाले बताए। यो संविधानले यस्ता कालो कोठाबाट भएका सिफारिस चिन्दैन।
विगतमा लोकतन्त्रका लागि लडेकाहरुसँग माफी माग्दै थापाले लोकतन्त्र र संविधानमाथि खतरा संविधानकै संरक्षकहरुबाट भएको बताए । उनले व्यवस्था बचाउन फेरि एक पटक जुट्नुपर्ने अवस्था आएको भन्दै सबैलाई एकजुट भएर सामना गरौं भने ।
