बालेन सरकारका अर्थमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले को बारेमा विभिन्न राजनीतिक नेताहरू, बौद्धिक व्यक्तित्वहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले फरक–फरक टिप्पणी, आलोचना र प्रशंसा गरेका छन् । हालै उनले दिल्ली भ्रमणका क्रममा दिएको अभिव्यक्ति र उनको राजनीतिक यात्रालाई लिएर भएका प्रमुख टिप्पणीहरू यस प्रकार छन् ः
दिल्ली अभिव्यक्तिको आलोचना ह्वात्तै बढेको छ । वाग्लेले हालै नयाँ दिल्लीको एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले “नेपाली राष्ट्रवादलाई भारतविरोध (एन्टी–इन्डिया कार्ड) सँग जोड्ने युग सकियो” भन्ने अभिव्यक्ति दिएपछि नेपालका राजनीतिक वृत्तमा उनको तीव्र आलोचना भएको छ ।
कमल थापा (राप्रपा नेता)ः उनले वाग्लेको यो अभिव्यक्तिको कडा विरोध गर्दै आपत्ति जनाएका छन् । विदेशी मञ्चमा गएर नेपालको राष्ट्रिय सरोकार र संवेदनशील मुद्दाहरूलाई कमजोर बनाउने यस्तो तर्क गर्नु गैरजिम्मेवारपूर्ण भएको भन्दै थापाले सरकारको आधिकारिक धारणा माग गरेका छन् । गोकुल बास्कोटा (एमाले नेता)ः उनले वाग्लेको सो भनाइलाई लिएर कडा टिप्पणी गर्दै यसलाई “बौद्धिक ज्ञानको टाट पल्टाई” र नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भनेर आलोचना गरेका छन् ।
शैक्षिक र प्राज्ञिक क्षेत्रबाट प्रशंसा भएको भन्दै रास्वपाले प्रचार प्रसार गरेको छ । अन्तर्राष्ट्रिय अर्थशास्त्रीका रूपमा उनको छविलाई लिएर प्राज्ञिक क्षेत्रमा धेरैं प्रभाव पारेको ठहर छ । रास्वपा र समर्थकहरूः राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले उनलाई आधुनिक अर्थशास्त्र र २१ औँ शताब्दीको कूटनीति बुझ्ने एक कुशल नेताका रूपमा लिन्छन् । उनका समर्थकहरू भन्छन् कि पुराना दलहरूले सस्तो ’एन्टी–इन्डिया’ राष्ट्रवाद मात्र भजाए, तर डा. वाग्लेले देशको अर्थतन्त्र सुधार्न कडा र व्यावहारिक यथार्थ बोलेका हुन् ।
अभिनेता राजेश हमामलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उनले मन्त्री पदको सीमा नाघेको टिप्पणी गरेका छन् । उनले नेपालले लामो समयदेखि लिँदै आएको परराष्ट्र नीतिको मर्ममा अर्थमन्त्रीको अभिव्यक्तिले असर पार्ने उल्लेख गरेका छन् । हमालले नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहासको विषय बनाइन नहुने धारणा पनि व्यक्त गरेका छन् ।
अर्थमन्त्री वाग्लेले भारतको टीभी च्यानल एडीटीभीले आयोजना गरेको कार्यक्रममा नेपालमा भारतविरोधी राष्ट्रवादको युग अन्त्य भएको धारणा राखेका थिए । उनको उक्त अभिव्यक्तिको नेपालमा विरोध भइरहेको छ । यसैसन्दर्भमा अभिनेता हमालले पनि यसबारे टिप्पणी गरेका हुन् । यसैगरी नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
उनले उक्त अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान तथा राष्ट्रिय हितमा आँच पु¥याउने खालको भएको बताएका छन् । ज्ञवालीले विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो देशको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उचित नहुने बताएका छन् । नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नरहेको उल्लेख गर्दै उनले नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रतापूर्ण सम्बन्ध चाहेको बताएका छन् । कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको प्रतिनिधित्व गर्ने धारणा मान्न नसकिने उनको भनाइ छ ।
नेपाल र भारतबीच रहेका विभिन्न समस्याबारे चर्चा गर्दै ज्ञवालीले सीमा विवाद, सन् १९५० को सन्धिका केही प्रावधान, नेपाली उत्पादनलाई भारतीय बजारमा प्रवेश गर्न हुने कठिनाइ, बढ्दो व्यापार घाटा र सीमामा बनाइएका एकतर्फी बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने समस्यालाई उठाएका छन् । नेपालले पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गका विषयमा पनि भारतले आनाकानी गरिरहेको उनको आरोप छ ।
छिमेकी मुलुकसँग यस्ता विषयमा खुलस्त छलफल गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले समस्यालाई लुकाएर सम्बन्ध बलियो नहुने बताएका छन् । उनका अनुसार यी विषय उठाउनु कुनै देशको विरोध नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय हो । राष्ट्रिय हितको रक्षा गर्नु हरेक सरकारको दायित्व भएको उनले बताएका छन् ।
ज्ञवालीले नेपाल र भारतबीचका समस्याको समाधानका लागि बलियो राष्ट्रिय एकता र सहमतिका आधारमा गम्भीर कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् । यथार्थलाई ढाकछोप गरेर अपनाइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमान बलियो नबनाउने भन्दै उनले सम्बन्ध सुधारका लागि समस्याको स्पष्ट पहिचान र समाधान आवश्यक रहेको बताएका छन् ।
