भदौ १० गते भोटेकोसीमा बाढी आउँदा रसुवा नुवाकोट धादिङ जिल्लामा रहेका नदी किनारका छ लाख बासिन्दा प्रभावित भएका छन् । बाढीले टिमुरे स्याफ्रुबेसी बेत्रावती त्रिशुली र ढुङे बजार बगाएर ठुलो धनजनको क्षति भएको छ । नेपालको इतिहासमा यति ठूलो बाढी आएको छैन । यो बाढीले हजारौंलाई बेपत्ता बनाएको छ । नेपालीलाई परेको विपत्तिमा ती बाँचेकाहरुको सहयोगका लागि देश बिदेशमा रहेका नेपालीले आफुले सकेको सहयोग गरेका छन् । मन दुखेको बेला एक नेपालीले अर्को नेपालीका लागि गरेको सहयोग अपूर्व छ । उदाहरणीय छ । अहिलेसम्म प्रधानमन्त्री राहत कोषमा १० अर्व भन्दा बढी रकम जम्मा भएको छ । यसै बीचमा हामीले काभ्रे जिल्लाभरबाटको कस्ले सहयोग गरे भन्ने खोजी गरेका छौं ः
स्थानीय निकाय तर्फ पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले प्रधानमन्त्री विपद् राहत कोषमा २० लाख सहयोग गर्नुभएको छ । उक्त सहयोग रसुवामा गएको बाढी पहिरोबाट प्रभावितलाई सहयोग स्वरुप प्रदान गरेको कुरा नगर प्रमुख खरेलले आफ्नो फेसबुक वालमा पोस्ट गर्नुभएको थियो । नगरपालिकाले आफूलाई प्रदान गरेको तलब वापत सहयोग गर्नुभएको हो । ५ वर्ष सम्म आफूले प्राप्त गर्ने गरेको बाँकी रकम दुःखी असाहय नागरिकलाई सहयोग गर्ने बताउनुभएको छ । बनेपा नगरपालिकाले १५ लाख रकम प्रधानमन्त्री विपद् राहत कोषमा सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो ।
पनौती नगरपालिकाले ३० लाख रुपैया प्रधानमन्त्री राहतकोषमा आर्थिक सहयोग उपलब्ध गर्ने निर्णय गरेको कुरा नगर प्रमुख रामशरण भण्डारीले बताउनुभयो । यसैगरी धुलिखेल नगरपालिकाले प्रधानमन्त्री विपद् राहतकोषमा १० लाख आर्थिक रकम उपलब्ध गराउने निर्णय गरेको छ । नमबुद्ध नगरपालिकाले २७ लाख ५० हजार सहयोग उपलब्ध गराएको छ ।
पाँचखाल नगरपालिकाले राहत कोषमा १० लाख, मण्डनदेउपुर नगरपालिकाले १५ लाख, बेथानचोक गाउँपालिकाले ३५ लाख, चौरीदेउराली गाउँपालिकाले १० लाख, रोशी गाउँपालिकाले १० लाख प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने निर्णय गरेको छ । धुलिखेल वडा नं. १ ले १ लाख प्रधानमन्त्री राहतकोषमा सहयोग गर्नेकुरा वडा अध्यक्ष विनोद गौतमले बताउनुभयो । पनौती नगरपालिका वडा नं. २ ले १ लाख ५० हजार राहतकोषमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
काभ्रे जिल्लाका सहकारीका छाता संघ र सहकारी संस्थाहरुले पनि प्रधानमन्त्री विपद् राहत कोषमा सहयोग गरेका छन् ः
जिल्ला बचत संघ काभ्रेले २ लाख २ हजार २२२, जिल्ला सहकारी संघ काभ्रेले १ लाख ५९ हजार, सामुदायिक सहकारी संस्था पनौतीले ५ लाख ५ हजार, मनकामना साकोस बनेपाले १ लाख ५१ हजार, बुडोल सामुदायिक साकोसले २ लाख ५० हजार, विन्धवासीनी साकोस खोपासीले ६ लाख ११ हजार ५६०, नारी चेतना साकोसले २५ हजार २ सय २५ राहत कोषमा सहयोग गरेका छन् । यसैगरी नेपाली कांग्रेस बनेपा नगर समितिले २ लाख २३ हजार राहत कोषमा सहयोग गरेको छ ।
स्कुल तथा कलेजहरुले पनि राहत कोषमा सहयोग गरेका छन् ः
काभ्रे बहुमुखी क्याम्पसले ६ लाख ६५ हजार ९९८, धुलिखेल क्याम्पसले ५५ हजार ५ सय ५५ र आजाद मावि बनेपाले १४ हजार ४५५ रकम प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको कुरा विद्यालयका प्रधानाध्यापक श्यामकृष्ण मानन्धरले बताउनुभयो ।
रसुवाको बाढीमा बेपत्ता र मृत्यू भएका ३ काभ्रेलीको काजक्रिया
गत भाद्र १० गते रस्ुवा जिल्लाको भोटेकोसीमा नदी तथा तल्लो तटीय क्षेत्रमा आएको भिषण बाढीकै कारण ज्यान गुमाएका ३ जनाको परिवारजनले काजक्रिया गरेको छ । पाँचखाल–६ तीनपिप्लेका डिकवहादुर कायस्थ, रोशी गाउँपालिका ९ मंगलटारका शंखबुद्ध तामाङको मृत्यू भएको पुस्टीसँगै परिवारले प्रहरीसँग लास बुझी संस्कार अनुसार दाहसंस्कार गरिएको छ । त्यसैगरी पाँचखाल वडा नं. १२ का राजकुमार गौतमको पनि बेपत्ता भएको ८ औं दिनमा पशुपति आर्यघाटमा कुशको शव बनाई दाहसंस्कार गरेको जनाएको छ ।
