देशभर खाना पकाउने एलपी ग्याँसको आपूर्तिमा देखिएको अव्यवस्थाले उपभोक्ता बजारमा गम्भीर अन्योल र त्रास सिर्जना गरेको छ । बजारमा ग्याँसको अभाव नरहेको दाबी नेपाल आयल निगम र सरकारले गरिरहे पनि उपभोक्ता भने खाली सिलिन्डर बोकेर डिलर र सप्लायरका गोदामअगाडि दिनौँसम्म लाइन बस्न बाध्य छन् ।
सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्म सार्वजनिक भइरहेका तस्बिरहरूले उपभोक्ताको पीडा स्पष्ट देखाउँछन् । एउटा सिलिन्डर साट्नसमेत हप्तौँ कुर्नुपरेको गुनासो व्यापक रूपमा आउन थालेको छ । यस्तो अवस्थामा सरकार भने समस्या समाधानभन्दा पनि “बजारमा अभाव छैन” भन्ने पुरानै दाबी दोहा¥ेयाइरहेको भन्दै उपभोक्ताले असन्तुष्टि जनाएका छन् ।
प्रश्न उठेको छ – वास्तवमै ग्याँसको आयात घटेको हो । आपूर्ति प्रणाली बिग्रिएको हो, कि वितरण नीतिको असफलताले कृत्रिम अभाव सिर्जना गरेको हो ? यसको स्पष्ट उत्तर दिने जिम्मेवारी सरकारकै हो । तर सम्बन्धित निकायको मौनताले उपभोक्ताको अन्योल झन् बढाएको छ ।
यसअघि २०८२ फागुन अन्तिमतिर ग्याँस अभाव चर्किएपछि नेपाल आयल निगमले आधा भरिएको (७.१ किलो) सिलिन्डर वितरणको व्यवस्था लागू गरेको थियो । अहिले पुनः पूर्ण क्षमताको सिलिन्डर वितरण सुरु भएपछि अचानक माग बढेको र त्यसले वितरण प्रणालीमा दबाब सिर्जना गरेको डिलरहरूको भनाइ छ । तर उपभोक्ताहरू यो तर्कलाई सरकार र व्यवसायीको कमजोर व्यवस्थापनको परिणामका रूपमा हेर्छन् ।
एकातिर ग्याँस डिपोहरूमा बिहानैदेखि उपभोक्ताको भीड लागिरहेको छ भने अर्कोतिर आयल निगमले बजारमा पर्याप्त ग्याँस रहेको दाबी गरिरहेको छ । सरकारी दाबी र उपभोक्ताको वास्तविक अनुभवबीचको यो विरोधाभासले बजारमा अविश्वास बढाएको छ ।
विश्लेषकहरूका अनुसार सरकारको वितरण नीति परिवर्तनअघि पर्याप्त तयारी नहुनु, व्यवसायीले सन्तुलित वितरण प्रणाली प्रभावकारी रूपमा लागू गर्न नसक्नु तथा अभावको हल्लापछि उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिन्डर सुरक्षित राख्ने प्रवृत्तिले अहिलेको संकटलाई थप जटिल बनाएको छ ।
दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुमा देखिएको यस्तो अव्यवस्थाले सरकारको आपूर्ति व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । उपभोक्ताले तत्काल सहज वितरण, पारदर्शी सूचना र प्रभावकारी बजार अनुगमनको माग गरेका छन् । अन्यथा ग्यासको यो संकटले सर्वसाधारणको दैनिकी अझ कष्टकर बन्ने निश्चित देखिन्छ । काभ्रेको बनेपा र धुलिखेलमा भने ग्याँस आपूर्तिमा त्यति असहज छैन ।
