सरकारी काम, कहिले जाला घाम भनेर भन्थे । कर्मचारीहरु सेवाग्राहीलाई काम हुन्छ हुन्छ मात्रै भन्थे तर काम कहिल्यै समयमा गरिदिदैन्थे । कर्मचारीमा कुनै लगाम थिएन, अस्थिर सरकारका कारण उनीहरू सर्वेसर्वा थिए । गफ छाट्ने, आलटाल गर्ने, फाइल पल्टाउने, चस्मा मुनीबाट हेर्ने र घुस झार्न सेवाग्राहीलाई अनेकौं दुख दिने गुनासो चौतर्फी थियो तर तिनै कर्मचारी नयाँ सरकारको आगमनसँगै स्थायी सरकारका रूपमा रहेको कर्मचारी संयन्त्रको कार्र्यशैलीमा पनि धेरै परिवर्तन देखिएको छ।
यसअगाडि कार्यकक्षमा प्रायः नभेटिने कतिपय कर्मचारी अहिले दैनिक कार्यसूचीमै व्यस्त हुने गरेका छन् । खाजा खाने समयमा पनि कर्मचारी कार्यालयमै बसेर काममा व्यस्त देख्न सकिन्छ । कतिपय भने सेवा प्रवाहमा अवरोध नहुने गरी पालो मिलाएर खाजा खान जाने गरेको पाइएको छ । कर्मचारीहरू बिहान ९ देखि साँझ ५ बजेसम्मै कार्यालयमा सेवा प्रवाह र भावी योजनाको सन्दर्भमा व्यस्त हुने गरेका छन् । उच्च तहका कर्मचारी त बिहान ९ देखि साँझ ८ बजेसम्म पनि कार्यकक्षमै बसेर सरकारको योजनालाई कार्यान्वयन गराइरहेको देख्न सकिन्छ । राष्ट्रिय सतर्कता केन्द्रले गत वैशाखमा गरेको छड्के अनुगमनका क्रममा केही बाहेक अधिकांश कर्मचारीको कार्यशैली र स्वाभावमा परिवर्तन आएको जनाएको छ ।
केन्द्रले अहिले दैनिक सातदेखि नौ वटा टोली खटाएर विभिन्न कार्यालयको छड्के अनुगमन गरिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव डा.भीष्मकुमार भुसालले अहिले कर्मचारी संयन्त्रले सरकारको ‘स्प्रिट र स्पिड’ सँग तालमेल मिलाइरहेको कुरा संचारकर्मीलाई बताए । “सरकार जसरी सुशासन र सेवा प्रवाहका लागि क्रियाशील भएर लागेको छ, कर्मचारी संयन्त्र पनि सोही अनुसार सेवा प्रवाह र सुशासनका लागि सक्रिय हुँदै आएका छन्,” उनले थपे । कर्मचारीलाई जबरजस्ती काम लगाउनेभन्दा पनि कर्मचारी आफैँले स्वविवेक प्रयोग गरेर सरकारको कार्यलक्ष्य अनुसार काम हुँदै गएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । स्थानीय शासनविज्ञ डा. शेषरमण न्यौपानेले विगतको तुलनामा अहिले कर्मचारी संयन्त्रको कार्यशैलीमा परिवर्तन आाएको आफूले पाएको बताए । उनका अनुसार “अहिले कार्यालयमा जाँदा बिना झन्झट सहज र छिटो सेवा पाइन्छ । कतिपय सेवाग्राहीले गर्ने काम त कर्मचारी आफैँले नै गरिदिन्छन्, यही हो परिवर्तनको अनुभूति ।” विगतमा कार्यालयको प्रगति ५० प्रतिशत मात्र हुने तर कर्मचारीले कार्यसम्पादनमा शतप्रतिशत अङ्क हासिल गर्थे ।
संरचनागत सुधार आवश्यक
अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह गर्ने संरचनै कमजोर छ । एउटै कामका लागि सेवाग्राही पटक पटक एउटै कार्यकक्षमा धाउनुपर्ने अवस्था छ, त्यसको अन्त्य गर्नु पर्छ । कतिपय कार्यालयमा विद्युतीय प्रणाली लागु नहुँदा भौतिक उपस्थिति बिना कामै नहुने अवस्था छ ।
नेपाल सरकारका पूर्वसचिव सुरेश अधिकारीले नयाँ सरकार गठनसँगै कर्मचारी संयन्त्रमा केही परिवर्तन आए पनि संरचनागत सुधारमा भने अझ धेरै परिवर्तन गर्न बाँकी नै रहेको बताए । कार्यालयको फाराम छोटो, छरितो र सबैले सहज रूपमा बुभ्mने, कर्मचारीको सत्चरित्रको पूर्वपरीक्षण गर्नुपर्ने, सबै कार्यालयमा सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली लागु गर्नुपर्ने, सबै सार्वजनिक निकायमा गुनासो सुन्ने अधिकारी व्यवस्था गर्नुपर्ने र सूचना अधिकारीको भूमिका थप प्रभावकारी बनाउनुपर्ने सुझाव उनको थियो ।
वृत्तिविकासमा समयानुकूलता
कर्मचारीलाई जबरजस्ती काम मात्र लगाउने भन्दा पनि सेवा सुविधा थप समयानुकूल बनाएर, कर्मचारी खुसी बनाएर काम लगाउँदा सरकारको नीति, योजना र बजेट कार्यान्वयन थप सहजता आउने प्रशासनविद्हरूको तर्क छ । तल्लो तहका कर्र्मचारीको अहिले सरकारले प्रदान गरेको सेवा सुविधाले मात्र दैनिकी चलाउनै कठिन भएकाले सरकारले समयानुकूल रूपमा कर्मचारीको वृत्ति विकास गरी काममा गुणस्तर कायम भएको बताइन्छ । बालेन सरकार आएसँगै देशब्यापी रूपमा कर्मचारीको काम गर्ने शैलीमा धेरै परिवर्तन आएको छ । सेवाग्राही पनि यस्तै अपेक्षामा थिए ।
