पछिल्ला एक सातामा राजधानी काठमाण्डूस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका निम्ति भर्ना गरिएकामा दीर्घकालका दम, खोकी र श्वासप्रश्वासका बिरामी धेरै रहेको कुरा बिबिसी नेपाली सेवाले जनाएको छ ।
‘खासगरी मङ्सिर लागेपछि यस्तो अवस्था देखिन्छ,’ टिचिङ अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमले भने । ‘प्रदूषण पनि छ, तुवाँलो लागेको छ र घाम पनि पर्याप्त देख्न सकिएको छैन । यस्तोमा खासगरी श्वासप्रश्वासबाट बढ्ने भाइरल सङ्क्रमण र ब्याक्टेरियाको सङ्क्रमण बढेको छ ।’
डिसेम्बर लागेपछिको समय हिउँद मानिने भए पनि मनसुनपछिको एक महिनाभित्रै अधिकतम र न्यूनतम दुवै तापक्रम घटिरहेको पाइएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारी बताउँछन् । शनिवार राजधानी काठमाण्डूमा अत्याधिक चिसो थियो । न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस् थियो भने शुक्रवार ६.५ डिग्री सेल्सियस मापन गरिएको थियो । प्रदूषण र चिसो मिसिएको समयमा धूँवा धूलोमा टाँसिएर इन्फ्लूएन्जा, राइनो, डडिनोजस्ता भाइरसहरूको सङ्क्रमण बढ्ने डा. बम बताउँछन् ।
‘अहिले अस्पताल आउने धेरैजसोमा १० वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका जेष्ठ नागरिकहरू छन् । उनीहरूमा भाइरल सङ्क्रमण बढेको पाइन्छ ।’ प्रतिरोधी क्षमता कम भएका व्यक्तिमा क्यान्सरका बिरामी, कलेजोका बिरामी, मृगौलाको डायलासिस गराइरहेका बिरामी, अक्सिजन लिइराखेका दीर्घ खालका दमका बिरामी, गर्भवती, सुगरका बिरामी, मुटु रोगका बिरामी, स्ट्रोक तथा पक्षघात भएर बसेकाहरू पर्ने बताइन्छ । ‘टिचिङ अस्पतालमा पछिल्लो एक साताजतिमा सबैभन्दा धेरै भर्ना हुने भनेकै दीर्घकालका श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू छन् । डा. बम भन्छन् ।
‘सङ्क्रमणबाट बच्न स्वास्थ्यका मापदण्ड पालना गर्ने, सामाजिक दूरी कायम गर्ने, धूलोधूँवा एकदमै धेरै भएकाले बाहिर निस्कँदा मास्कको प्रयोग गर्नुपर्छ । यस्तो समयमा पोषणयुक्त खानेकुरा निकै खान आवश्यक छ। खाइरहेका दीर्घ रोगका औषधि टुटाउनु हुँदैन ।’ चिकित्सकहरू सकेसम्म बिहानै वा राती चिसोमा बाहिर हिँडडुल नगर्न र जेष्ठ नागरिकहरूलाई सबेरै चिसो पानीले ननुहाउन सुझाउँछन् ।
के हो भाइरल संक्रमण ?
भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक प्रकारको सरुवा रोग हो । विशेषगरी रोग लागेका व्यक्तिको शरिरमा भएको तरल पर्दाथबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीले खोक्दा, हाँच्छ्यु गर्दा, हाई काढ्दा उसको शरिरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने गर्छन् ।
लक्षणहरु ः
– एक्कासी ज्वरो बढ्ने र रोकिने गर्छ
– चिसो महशुस हुनु, हल्का खोकी लाग्नु
– शरिर दुख्नु, हात खुट्टा सिल्का हान्नु र जोर्नी दुख्नु
– वाकवाकी लाग्नु, कमजोर महशुस हुनु
– अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु ।
– आँखा रातो हुनु हो ।
