निर्वाचन आयोगले दल दर्ताको समय मंगसिर ५ गतेसम्म थप गरेको छ । ठूला दलहरु आन्तरिक किचलोले निर्वाचनमा जान अन्योल भएको बेला आयोगले काम तिब्र गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाउन तीन दिनको समय दिएको छ ।
आयोगले सोमबार बसेको बैठकबाट निर्णय गर्दै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो । यो कार्यक्रम आयोगको वेबसाइट र नेपाल राजपत्रमा समेत प्रकाशन गरिने जनाइएको छ । निर्वाचन कार्यक्रमअनुसार, मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेस गर्न समय तोकेको छ ।
मंसिर २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म निवेदन पेस गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । पुस १३ र १४ गते बिहान १० देखि ४ बजेसम्म राजनीतिक दलहरूले उमेदवारको बन्दसूची पेस गर्ने आयोगको निर्वाचन कार्यतालिकामा उल्लेख छ ।माघ २० गते बिहान १० देखि बेलुकी ५ बजेसम्म उमेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ । यसैगरि निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
आइतबार आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । पुस २३ गते उम्मेदवारी दर्ता गर्न सकिने आयोगले जनाएको छ । माघ १ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस १९ गते बिहान १०ः०० बजेदेखि ११ः०० बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ भने मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन÷उजुरी माथि छानबिन गरी पुस २२ गते ३ः०० बजेदेखि ४ः०० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
त्यस्तै पुस २३ गते बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने, पुस २४ गते बिहान १०ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ः०० बजेदेखि २ः०० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १०ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने आयोगले जनाएको छ । माघ ११ गते बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने छ ।
