प्रहरी प्रधान कार्यालयले भदौ २४ गतेको प्रदर्शनमा लुटिएको हतियारबारे छानबिन गर्न समिति नै बनाएको थियो । प्रहरी प्रधान कार्यालयले डीआईजी दिपक रेग्मीको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
उक्त समितिको रिपोर्टअनुसार देशभरबाट एक हजार २८१ हतियार लुटिएका थिए । त्यसमध्ये सबैभन्दा बढी हतियार काठमाडौंबाट लुटिएका थिए । काठमाडौंबाट मात्रै एकहजार १७ थान हातियार लुटिएको रेकर्ड प्रहरीसँग छ ।
लुटिएकामध्ये सबैभन्दा धेरै साना हतियार छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सटगन ११७ थान, पेस्तोल ३४६ थान, रिभल्बर ७५ थान हराएका थिए ।
यीबाहेक राईफल ५५४, ग्यास गन १५९, टेजर गन ३० वटा लुटिएका थिए । यसरी लुटिएका हतियारमध्ये हालसम्म करिब तीन सय हतियार प्रहरीले विभिन्न ठाउँबाट बरामद गरेको छ । प्रहरी अधिकारीका अनुसार यसरी लुटिएका हतियारको दुरुपयोग हुँदा सुरक्षा चुनौती देखिएको छ ।
प्रहरीले प्रदर्शनका क्रममा लुटिएको हतियार बुझाउन पटक–पटक सूचना जारी गर्दासमेत बुझाएका छैनन् । प्रहरी अधिकारीका अनुसार आपराधिक समूह र लागुऔषध कारोबारीका हातमा पुगेका कारण फिर्ता आउन ढिलाई भएको दाबी गरेको छ ।
प्रहरीका अनुसार काठमाडौंबाट हराएका हतियार उपत्यका बाहिरसमेत पुग्न थालेको दाबी गरेको छ । हतियारसँगै एक हजार ६८७ थान गोलीसमेत लुटिएको थियो ।
