IMG-LOGO

कांग्रेस–माओवादीमा उथलपुथल, एमालेमा ओलीको जबर्जस्ती

 मंगल, असोज २८, २०८२  --

 

– टाइम्स बिश्लेषक

भदौ २३ र २४ गतेको जेन्जी विद्रोहपछि मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पार्टी भित्र धेरै ठूलो तरंग ल्याइदिएको छ । दलहरु नसोचेको र अनुमान नै नगरेको विद्रोहले भदौको अन्तिमसाता पार्टी र तिनका नेता कुहिरोमा हराएको काग जस्तै भएका थिए । दशै सकिए लगत्तै दलहरुका बैठक बसेका छन् र नेताहरुका धारणा बाहिर आएका छन् ।

त्यति ठुलो विद्रोह र त्यसका उपलब्धि केही नदेखेर जनता निराश र दिक्क मानिरहेका छन् । नयाँ परिस्थितिमा नेपाली कांग्रेस र माओवादी पार्टीमा उथलपुथल नै ल्याइदिएको छ भने एमालेमा केपी ओलीको जोर जबर्जस्ति चलिरहेको छ । ओली आफ्नो पद छोड्ने मनस्थितिमा छैनन् तर कांग्रेसमा सभापति शेरबहादुर देउवा नरम देखिएका छन् । माओवादीमा प्रचण्डले महाधिवेशन फेस गर्न माओवादीको मौजदा समिति नै भङ्ग गरेका छन् ।

२००७ सालको जनक्रान्ति र २०४६ जनआन्दोलनको नेतृत्व गरेको नेपाली कांग्रेस पार्टी अहिलेको अवस्थामा सशक्त देखिएन । त्यत्रो इतिहासमा योगदान दिएको पार्टी र पार्टीका सभापति शेरबहादुर देउवा निरही देखिए कारण ,६ पटक प्रधानमन्त्री खान मिल्नै नहुने विजातिय एमाले संगै मिलेर प्रधानमन्त्रीको पद ढुक्ने देउवा कै कारण यो स्थिति आएको हो । पहिलो पार्टीको नेतृत्वमा सरकार गठन नहुनु र एमाले काङ्ग्रेसको दुई तिहाइको घमण्ड र सरकारमा ओलीको मनोमानीले जेनजी विद्रोह भएको हो ।

विद्रोहको दोस्रो दिन अर्थात भदौ २४ गते सभापति देउवा दम्पतीमाथि आक्रमण भयो । घाइते देउवा दम्पतीलाई सेनाले आफ्नो अस्पताल छाउनी लैजानु प¥यो । प्रधानमन्त्री ओलीको दम्भले देश खरानी भयो । अन्तिम अवस्थामा सेनाको हेलिकप्टर मगाएर ओली भागेर शिवपुरी ब्यारेक जानुप¥यो यि यावत घटना उपर के सोचिरहेका होलान् देउवा ? देउवाले कुटाइ खाए । बिजातियसँग मिल्दा कस्तो फल पाइने रहेछ ? देउवाले राम्रो गरी चिने होलान खड्गप्रसाद ओलीलाई ? ओलीसँग मिलेर काङ्ग्रेसले गम्भीर भुल गरेको थियो ।

ओली नम्बर १ असन्तुलित हुन् । घुमाइ घुमाइ नेपाली कांग्रेस पार्टीलाई ओलीले डुबाइदिएकै हुन् । नेपाली काङ्ग्रेसीहरुको एकता नभए फेरि देशमा अर्को १७ साल आउन सक्छ त्यसैले नेपाली कांग्रेसमा सुझबुझ तरिकाले निर्णय लिन अवेला भैसकेको छ । सधै टुटे फुटेका कम्युनिस्टहरु मिल्न जान्दैनन् मिले पनि दिगो भएको छैन कम्युनिष्ट भन्दा कांग्रेससँग यो निरासाको अन्त्यको आशा जनताले गरेका छन् ।

जेन्जी भनेको सुदन गुरुङ र उसको हाम्रो नेपाल संस्था मात्रै होईन । यो नेपालको मात्रै होइन विश्व कै एउटा पुस्ता हो । एउटै पुस्ताको समान भूगोल, विचार, संगठन हुँदैन । त्यसैले सबै पुस्तालाई मान्य हुने निर्णय भनेको संविधान हो । संविधानलाई आधार बनाएर देशमा नयाँ नेतृत्व चयनका लागि चुनाव बाहेक अर्को विकल्प छैन । सबै मिलेर चुनावमा जानु नै कल्याण हुनेछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्