असोज १७, १८ र १९ गते विहान सम्म परेको अविरल बर्षाले देशभर प्रभावित गरेको छ । कतै बाढी कतै पहिरो र डुबान हुँदा अहिलेसम्म ५२ जनाको ज्यान गएको छ भने एक दर्जन भन्दा बढी नागरिक बेपत्ता भएका छन् । काभ्रे जिल्लामा बाढीपहिरोका कारण २ जनाको ज्यान गएको छ । रोशी ११ मा ६५ वर्षीय एक महिलाको सुख्खा पहिरोको कारण ज्यान गएको हो । त्यस्तै गरी रोशीको बाढीले तेमाल–८, निवासी अन्दाजी ५७ वर्षीय डोल्मा तामाङको ज्यान गएको छ । देशका प्रमुख राजमार्ग अवरुद्ध हुँदा दशै मानेर कर्म थलो पुग्न सकेका छैनन् तर यसपटक सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले बिपद्लाई समयमा नै राम्रोसंग ब्यबस्थापन गरेको छ । (हेर्नुस् सम्पादकीय २ पेजमा) बिपत्तिको सामना गरेको यो सरकारलाई सबैतिरबाट प्रसम्शा गरिएको छ ।
-
काभ्रेमा कहाँ के भयो ?
-
असोज १७ देखि १९ गते विहान सम्म परेको अविरल वर्षातका कारण काभ्रेपलाञ्चोक जिल्लामा पुगेको क्षतिको प्रारम्भिक तथ्यांक प्रहरीले सार्वजनिक गरेको छ । वर्षात रोकिएर सामान्य अवस्थामा आए पनि परि घटनाहरु भने हुन थालेका छन् । वर्षात रोकिएपछि नमोबुद्ध ५ कानपुरमा घर भत्कँदा प्रेम लामा घाईते भएका छन् । बेथान्चोक ६ मा सन्तोष लामाको घर भत्किएको छ । घर पछाडीको पर्खाल भत्किएर उनको घर पुरेको प्रहरीले जनाएको छ । असोज १८ गते साँझ पनौती नगरपालिका ३ तेलमालेमा चट्याङ पर्दा राजु सापकोटाको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको २ तले कच्ची घरमा आगलागी हुनपुग्यो । प्रहरी चौकी कुशादेवीबाट प्रहरी सहायक निरिक्षक टेकप्रसाद सापकोटाको नेतृत्वमा खटिएको टोलीले स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको थियो । मानबीय र चौपाय क्षती नभए पनि घर भित्र रहेको अन्नपात, लत्ता कपडा, भाडा वर्तन गरी करिव तीन लाख रुपैयाको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
-
पनौती नगरपालिका ५ ढलमलेमा धातु बनाउने पुण्यमाता खोलाको छेउमा पाल टाँगेर बस्दै आएका ३० बर्षिय एक ब्यक्तिलाई उद्दार गरिएको छ । पाँचखाल नगरपालिका १३ सुनकोशी बगरको छेउमा बस्ने योगप्रसाद थपलियाको घर बर्षातका कारण सुनकोशी नदीको पानीको बहाव बढी जोखिम हुन सक्ने भएकाले उक्त घरमा बस्ने ५ जनाको परिवारलाई सुरक्षित स्थानमा आफन्तको घरमा सारिएको थियो । पाँचखाल नगरपालिका १२ ठकुरी गाउँमा ३ घर परिवारका १५ जनालाई स्थानान्तरण गरिएको थियो । बर्षातका कारण घर माथिबाट पहिरो गई जोखिम हुन सक्ने भएकाले रेकबहादुर शाहीको ५ जनाको परिवार, सन्तोष शाहीको ४ जनाको परिवार, कृष्णबहादुर शाहीको ६ जनाको परिवारलाई आफन्तकोमा सुरक्षति स्थानमा सारिएको प्रहरीले जनाएको छ ।
-
बेथान्चोक गाउँपालिका वडा नम्वर २ र ३ का करिव ७० घर परिवारलाई असोज १८ गते राति गेल्डुङ्ग खोला र दुर्लुङ्ग खोलाको वहाव बढेपछि सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताउनुभयो । अझै केहि परिवार अन्यत्र बसोबास गरिरहेका छन् भने वर्षात रोकिएसँगै केहि बाहेक अधिकांश परिवार आफ्नै घर फर्किएका छन् । त्यस्तै रोशी गाउँपालिका अन्र्तगत विपी राजमार्गमा अलपत्र परेका १९ यात्रुलाई गाउँपालिकाको भवनमा सुरक्षित राखिएको छ भने फलामेसाँघुु, नारायणटार, चण्डीबेशि (वडा नं १ र २) जोखीम बस्तीका करिब २५ घरपरिवार सुरक्षित स्थान लक्ष्मीनारायण स्कुलमा आश्रय लिएर बसेका छन् । धुलिखेल ११, ९ र १ मा केहि घरहरुमा क्षति पुगेको जनाइएको छ ।
-
यातायात तथा भौतिक पूर्वाधार सडक तर्पm के के भयो ?
-
वि.पि.राजमार्ग दुबै तर्फी अबरोध भएको ईलाका प्रहरी कार्यालय मंगलटारले जानकारी दिएको छ । असोज १८ गते ११ बजे देखि रोशी ११ माम्तीखोलामा अवरोध हुन पुगेको थियो । रोशी स्थित डालावेशिमा करिव १०० मिटर सडक कटान भएको छ । बुलढुंगामा करिव १०० मिटर सडक कटान भएको छ । रोशी गाउँपालिका ९ बोक्सिकुनामा रोशी खोलाले करिव २०० मिटर सडक कटान गरेको छ । रोशी गाउँपालिका ७ घुमाउनेमा रोशी खोलाले करिव १५ मिटर सडक कटान गरेको छ । नमोबुद्ध नगरपालिका ६ चौकीडाँडामा रोशी खोलाले करिव २१ मिटर सडक कटान गरेको प्रहरीले जनाएको छ । रोशि गाउँपालिका ११ पिप्ले मा रोशी खोलाले करिव ५२ मिटर बाटो कटान गरेको छ ।
धुलिखेल नगरपालिका ८ पकुचा स्थित अरनिको राजमार्गमा ढुंगा सहितको लेदो झरी दुई तर्फी सडक अबरुद्ध भएको थियो । असोज १८ गतेको साँझबाट एक तर्फी सुचारू भयो । त्यसैगरी धुलिखेल–८ खावा हुँदै कल्छे जाने सडकको धानछरे स्थीत खोल्सोमा बाढी पहिरोले सडक पूर्ण क्षति भइ यातायात पूर्णरुपमा अबरुद्ध भएको छ । धुलिखेल नगरपालिका ८ पकुचामा नै अरनिको राजमार्ग सडक खण्डमा सडक माथिबाट ढुंगा सहितको लेदो झरी बाटो एकतर्फी अबरुद्ध भएको थियो । अविरल वर्षातका कारण कारण सडक दुबैतर्फि बन्द भएको थियो । रोशी गाउँपालिका ११ माम्तीखोला, डालावेशी, बुलढुंगा स्थित बि.पि.राजमार्ग सडक खण्डमा सडक माथिबाट ढुंगा खसी बाटो दुबै तर्फी अबरुद्ध भएको थियो । जिल्ला विपद ब्यवस्थापन समितिले विहान ९ बजेबाट नै विपी राजमार्ग बन्द गराउँदै सवारी साधन होल्ड गराएको थियो । राजमार्ग तथा धुलिखेल, बनेपा र पनौती हुँदै विभिन्न पालिका पुग्ने अन्य सहायक सडकहरु अवरुद्ध भएका छन् । अविरल वर्षातका कारण महाभारत गाउँपालिकामा सडक र विद्युत सेवा पूर्णरुपमा प्रभावित भइ अवरुद्ध भएका छन् । जन जीवन कस्टकर बन्दै गएको छ । बाढीपहिरोले सडक सञ्जाल क्षतविक्षत भएका छन् । सडक सञ्जाल पूणरुपमा सञ्चालन गर्न करीब एकहप्ता लाग्ने गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताउनुभयो ।त्यसैगरी खानीखोला गाउँपालिकाको सडक सञ्जाल बाढी पहिरोले क्षतविक्षत पारेको छ । नागरिकहरुको जीवन कस्टकर भएको खाद्य समाग्री तेल अभाव भएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर तामाङ (छिन्ताङ)ले काभ्रे टाइम्सलाई बताउनुभयो । उहाँले केहि दिनमा सडक सञ्जाल डोजरबाट अवरुद्ध हटाइ नागरिकलाई सहजता प्रदान गर्ने बताउनुभयो । २०८१ असोज १० देखि १२ सम्मको बाढी पहिरोको कारण काभ्रे जिल्लामा मात्र ८४ जनाले ज्यान गुमाएका थिए ।
