अन्तरिम सरकारले पूर्णता पाएको छ । जेनजीको विद्रोहबाट देशले सकसपूर्ण अवस्थामा सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्री बनायो। प्रधानमन्त्रीले हिजो सोमबार तीन सदस्यीय मन्त्रीहरु चयन गरिन् । हिजै नियुक्त मन्त्रीहरुको शपथ ग्रहण सकिएको छ ।
नवनियुक्त तीन मन्त्रीहरूले हिजो पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा हिजो आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए ।
नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ, घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छन् ।
सभामुख र उप–सभापुख शपथ ग्रहण कार्यक्रममा अनुपस्थत
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा मन्त्री कुलमान घिसिङ र गृह मन्त्री ओमप्रकाश अर्याललाई शपथ गराउनुभयो । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले मन्त्रीहरूको शपथग्रहण कार्यक्रममा सहभागी हुनुभएको छ, प्रतिनिधिसभा विघटन भएपनि उहाँको पद यथावत छ । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना दुवै सार्वजनिक समारोहमा अनुपस्थित रहनुभएको छ, प्रतिनिधिसभा विघटनपछि पनि उहाँहरूको पद यथावत छ ।
