IMG-LOGO

काभ्रेका ३ पालिकाको सभा सम्पन्न, १ को अवरुद्ध

 सोम, असार ९, २०८२     रमेशप्रसाद न्यौपाने/हरिनाथ न्यौपाने

 

    नयाँ संविधान २०७२ जारीसँगै संघ प्रदेश र स्थानीय सरकारले आफ्‌नो अधिकार भित्र रहेर बजेट ल्याउने संवैधानिक व्यवस्था छ । संघ र प्रदेशले बजेट ल्याइसकेका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । सोही अनुसार काभ्रे जिल्लाका १३ स्थानीय सरकारले धमाधम नगर तथा गाउँसभा गर्न थालेका छन् । धुलिखेल नगर सभाले नेपालको संविधान २०७२ ले सुन्चित गरेको संधिय संरचना प्रदेश सभा खारेज गर्ने निर्णय गरेको छ । संविधान विरोधी काम गरेको धुनपालाई मुद्दा लाग्छ कि लाग्दैन अब मेयर अशोक व्याञ्जु प्रदेश सभा सांसद नबन्ने हुन् ? संविधान नबुझेकाहरुको यो निर्णय सुनेर वाहवाही छ ।

बनेपा नगरका १ अर्व २४

करोड बजेट

    बनेपा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगर सभाको १६ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँको बजेट प्रस्तुत भएको छ । सभामा नगरप्रमुख शान्तिरत्न शाक्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख शाक्यले स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सीपमा आधारित उद्यम विकासलाई प्रोत्साहन गरिने बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको ज्ञान, सीप, र क्षमताको स्थानीय विकासमा उपयोग गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिनेछ नगर प्रमुख शाक्यले बताउनुभयो ।

    नगर क्षेत्रभित्र रात्रिकालिन व्यवसाय सञ्चालनका लागि सरोकारवाला पक्षहरुसँग आवश्यक समन्वय गरिने नगरपालिकाले जनाएको छ । नगरभित्रका पर्यटकीय क्षेत्रको पवद्र्धन गर्नका लागि कार्यक्रम सञ्चालन गर्नुका साथै युवाहरुलाई पर्यटन पथप्रदर्शकका रुपमा परिचालन गर्न भाषा शिक्षण कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख शाक्यले उल्येख गर्नुभयो । सहकारी संस्थाहरुको साख जोगाउन तथा बचतकर्ताहरुको बचतको सुरक्षा प्रत्याभुतीका लागि कानुन विपरित कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने छ भने निष्कृय रहेका सहकारीलाई खारेज गर्ने नग प्रमुख शाक्यले बताएका छन् । नयाँ सहकारी दर्ता नगर्ने समेत नगरपालिकाले नीति लिएको छ । एकीकरणको अवस्थामा बाहेक कार्य क्षेत्र विस्तार नगरिने नगरपालिकाले जनाएको छ ।

    नगरभित्र सञ्चालित विद्यालयहरु मध्ये कक्षा ५, ८, १० र १२ को नतिजाको आधारमा बढीमा ४ वटा विद्यालयलाई नगद सहित मेयर उत्कृष्ट शैक्षिक पदकबाट सम्मान गरिने कार्यक्रम सञ्चालन हुनेछ । बनेपाको अभियान, प्रतिभा पहिचान का लागि विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ । एक वडा एक खेल मैदान योजनालाई निरन्तरता दिइएको छ । सबै स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था बनाइनेछ । हरेक वडामा योग केन्द्र स्थापना र सञ्चालनमा प्रोत्साहन गर्ने नीति नगरपालिकाको छ ।

    गुणस्तरीय खानेपानी सुविधा सुनिश्चित गर्न प्रयोग भइरहेका स्थानीय पानीका स्रोतहरुको संरक्षण गर्ने र सम्भाव्य थप स्रोतहरुको उपयोग गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख शाक्यले बताए । ज्येष्ठ नागरिककको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्युतीय प्रणालीलाई भुमिगत गर्ने कार्य थालनी गरिनेछ । कृषि क्षेत्रमा संलग्न कृषकहरुको विवरण संकलन गरी किसान परिचयपत्रको व्यवस्था मिलाइने नगर प्रमुख शाक्यले बताउनुभयो ।

    नगर सभामा उप–प्रमुख विमला सापकोटाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित आर्थिक विधेयक पेश गरेकी छन् । विधेयक पेश गर्दै उनले अन्य निकायमा दर्ता भएका तर बनेपा नगरपालिकाको करको दायरामा नआएका करदाताहरुको हकमा आर्थिक वर्ष २०७४/७५ लाई आधार वर्ष मानी व्यवसाय कर असुल गरिने बताउनुभयो । यस्तो व्यवसाय पौष मसान्तभित्र दर्ता गर्न आएमा व्यवसाय कर र बहाल करमा जरिवाना लाग्ने छैन । सभामा सदस्यहरुले सार्वजनिक सम्पतिको संरक्षण, बजेट वितरण, विपदजन्य घटनाका लागि गर्नुपर्ने पुर्वतयारी लगायतका विषयमा आ–आप्‌mनो धारणा राखेका थिए ।

धुलिखेल नगरको १ अर्व १८

करोड बजेट

    १७ औं नगरसभाको शून्य समयमा वडाअध्यक्ष अर्जुन न्यौपानेले नेपालको संविधान अनुसार बनेको प्रदेश सरकारको आव ०८२/८३ को नीति तथा कार्यक्रम र विनियोजित आर्थिक ऐनहरुका विषयमा गम्भिर प्रश्न खडा भएकोले प्रदेश सरकार खारेज गर्न संघ सरकारलाई आग्रह गर्नु पर्ने प्रस्ताव राखेका थिए । धुलिखेल नगरसभाले संघीय सरकारलाई प्रदेश सरकार खारेज गर्न आग्रह गर्ने सर्वसम्मत निर्णय गरेको छ । नगरसभाले आगामी आर्थिक वर्षको १ अर्ब १८ करोड ४८ लाख रुपैयाँको बजेट पारित गरेको छ । सभाले प्रदेश सरकारको कार्यप्रणाली र बजेट विनियोजनमा समस्या देखाउँदै संघ सरकारलाई हस्तक्षेप गर्न आग्रह गर्ने निर्णय गरेको हो । ५ असार, काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले विहिबार बसेको १७ औं नगरसभाले संघीयतामाथि प्रश्न उठाउँदै प्रदेश सभा खारेजीका लागि संघ सरकारलाई आग्रह गर्ने सर्वसम्मत निर्णय गरेको छ । नगरसभामा प्रदेशसभा खारेज गर्न संघ सरकारलाई अनुरोध गर्ने भनि कार्यपालिका सदस्य धुलिखेल–२ का वडाअध्यक्ष अर्जुन न्यौपानेले राखेको प्रस्तावलाई बैठकले सर्वसम्मतले पारित गरेको नगरप्रमुख अशोककुमार व्याञ्जुले जानकारी गराउनुभयो ।

    १७ औं नगरसभाको शून्य समयमा वडाअध्यक्ष अर्जुन न्यौपानेले नेपालको संविधान अनुसार बनेको प्रदेश सरकारको आव ०८२/८३ को नीति तथा कार्यक्रम र विनियोजित आर्थिक ऐनहरुका विषयमा गम्भिर प्रश्न खडा भएकोले प्रदेश सरकार खारेज गर्न संघ सरकारलाई आग्रह गर्नु पर्ने प्रस्ताव राखेका थिए । ‘प्रदेश सरकारलाई विनियोजित बजेट सीधा स्थानीय तहमा विनियोजन गर्नका लागि संघिय संसदमा प्रस्ताव पेश गर्न यस सम्मानित सभा मार्फत प्रस्ताव पेश गर्दछु’ भनेर गरिएको प्रस्ताव कार्यपालिका सदस्यहरुले सर्वसम्मतिले पारित गरेका हुन् । न्यौपानेले प्रस्तावमा भनेका छन्, ‘स्थानीय सरकारसँग समन्वय र सहकार्य नगरेको, सरकारको हैसियतमा संविधान बमोजिम बजेट विनियोजन नगरेको, संविधानको सहअस्तित्व सहकार्य र समन्वयको सिद्धान्त विपरीत कार्य गरी स्थानीय सरकारलाई उपेक्षा गरेको, स्थानीय सरकारको अधिकार र जिम्मेवारीलाई कुन्ठित गरेको र व्यक्तिवादी कार्य गरेको र जिल्लास्थित कार्यालय र त्यसको कामले स्थानीय सरकारलाई कुन्ठित गर्यो ।’

    प्रदेश खारेज गर्ने वडाअध्यक्ष न्यौपानेको प्रस्तावमा वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्यले समर्थन गरेका थिए । उनले प्रदेश सरकारले अपेक्षित काम गर्न नसकेको, बजेट माग गर्न जाँदा कार्यालय बन्द हुने गरेको भन्दै  आक्रोश पोखे । जनताको पक्षमा प्रदेश सरकारले काम गर्न नसकेको उनको आरोप छ । नगर प्रमुख अशोककुमार व्याञ्जुले सामाजिक सञ्जाल फेसबुकमा सोही व्यहोराको स्टाटस लेखेका छन् ।  नगरप्रमुख व्याञ्जुले प्रभावकारी काम नभएको अवस्थामा संघीयतामाथि प्रश्न उठाउने अधिकार जनप्रतिनिधिलाई भएको बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले कुनै पनि सरकार प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको अवस्थामा त्यसको विरोध गर्ने अधिकार जनप्रतिनिधिहरूलाई रहेको तर्क गरे । प्रदेशसभा खारेजीको लागि संघीय सरकारलाई आग्रह गर्नेबारे नगरसभाले सर्वसम्मतले निर्णय गरेको उनले बताउनु भयो ।

पनौतीको नगरको ४ करोड

८५ लाख बजेट

    पनौती नगरपालिकाको १७ औं नगरसभा हिजो स्थगित भएको छ । नेकपा एमालेबाट निर्वाचित उपप्रमुख गीता बञ्जारा सहितका नगरसभा सदस्यहरूले बहिष्कार गरेका कारण गणपूरक संख्या अपुग भएपछि सोमबारको नगरसभा स्थगित भएको हो । नगरसभा सञ्चालनका लागि गणपूरक संख्या नपुगेपछि नगर प्रमुख रामशरण भण्डारीले बुधबार ११ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो । नगर प्रमुख भण्डारीले  कार्यपालिका मार्फत सबै विधि र प्रक्रिया पूरा गरिए पनि अन्तिम समयमा बैठक स्थगित गर्नुपरेको बताउनुभयो । उपप्रमुख गीता बञ्जाराले कार्यपालिकामा भएको सहमति विपरीत ४ करोड ८५ लाखभन्दा बढी बजेट थप भएर आएकोले बैठकमा सहभागी नभएको जानकारी दिनुभयो ।

नमोबुद्ध नगरको ८० करोड

७३ लाख बजेट

    नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८० करोड ७३ लाख २३ हजार १ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको दोस्रो नगर सभाको सातौं अधिवेशनमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सहितको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले दीर्घकालिन सोच सहित तयार भएको कृषि रणनीति योजनालाई कार्यान्वयनमा लगिने जनाएको छ ।

    विपद् पश्चात क्षति भएका खानेपानीका भोतिक पुर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने कार्यक्रममा उल्लेख छ । स्थानीय पाठ्यक्रम निर्माण, शैक्षिक पात्रो प्रकाशन, युवा सशक्तिकरण र उद्यमशिलता प्रवर्धनका कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख लामाले बताए । नमोबुद्ध नगरको गौरवको रुपमा रहेको नमोबुद्ध मन्दिर परिसरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आवश्यक पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    महिला स्वयंसेविकाको भक्ता ५ सय रुपैयाँ बढाइएको छ । महिला स्वयंसेविकालाई प्रोत्साहन गर्ने उदेश्यले मासिक रकम एक हजार उपलब्ध गराउदै आईएकोमा आगामी आर्थिक वर्षबाट ५ सय थप गरी मासिक १ हजार ५ सय का दरले प्रोत्साहन कार्यक्रमका लागि १४ लाख ५८ बजेट विनियोजन गरिएको छ । महिला स्वयंसेविका निवृत हुँदा नगरपालिकाबाट खाली हात नजानी नीति अनुसार प्रत्येक महिला स्वयंसेविका लागि २० हजार निवृत खर्चको व्यवस्था मिलाइएको नीति तथा कार्यक्रममा उल्लेख छ । मृगौला प्रत्यारोपण गरेका, डायलासिस गराई रहेका, क्यान्सर रोगी, मेरुदण्ड पक्षघातका विरामीहरुका लागि औषधि उपचार खर्च वापत मासिक ५ हजारका दरले ४६ लाख ४० हजार बजेट विनियोजन गरिएको छ ।

    नगरपालिकाको दीर्घकालीन सोच “कृषि, पर्यटन र व्यापारः समृद्ध नमोबुद्धको आधार“ लाई हासिल गर्न उपलब्ध श्रोत साधनलाई अधिकतम ढंगले परिचालन गरी नगरवासी नागरिकको हित अभिवृद्धि गर्दै सामाजिक न्याय सहितको समाजवाद उन्मुख अर्थतन्त्रलाई सहयोग पुग्ने गरी बजेट तर्जुमा गरिएको उनले बताए । सामाजिक सुरक्षा भत्ता घरदैलोमा नै पुर्याउने कार्यलाई निरन्तर दिइने नगरपालिकाले जनाएको छ । भुमिहिन सुकुम्बासी तथा अव्यस्थित बसोबासी जग्गा वितरण कार्यक्रम लाई थप प्रभावकारी बनाउन १५ लाख विनियोजन गरिएको छ । नमोबुद्ध कोसेली घर निर्माण तथा नगरस्तरीय सार्वजनिक शौचालय निर्माण गर्ने नगरपालिकाको योजना छ । नेपाल पत्रकार महासंघ, काभ्रेपलाञ्चोक शाखालाई अनुदान स्वरूप रकम रु. ३ लाख विनियोजन गरिएको छ । संघीय सरकारको अनुदानमा नेपाल जलवायु नमुना कार्यक्रमको लागि २० लाख बजेट विनियोजन भएको छ ।

    उद्यमशिलता, रोजगारीमुलक सशक्तीकरण सिप विकास तथा क्षमता अभिवृद्धि तालिम, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिइएको छ । बालमैत्री नगरपालिका घोषणाका लागि कार्यक्रम संचालन गरिदै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ । सभामा उप–प्रमुख रत्न बहादुर लामाले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै नगर विकास योजना प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले प्रस्तुत गरेका छन् भने आर्थिक विधेयक सार्वजनिक लेखा समितिका संयोजक एवं वडा अध्यक्ष कृष्ण बहादुर तामाङ, विनियोजना विधेयक वडा अध्यक्ष विरबहादुर तामाङ, महालेखा परिक्षकको कार्यालयबाट प्राप्त अन्तिम लेखा परिक्षण प्रतिवेदन सार्वजनिक लेखा समितिका संयोजक एवं वडा अध्यक्ष कृष्ण बहादुर तामाङले सभामा प्रस्तुत गरेका छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्