“जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं एमालेको कब्जामा हुनुपर्छ । जो जहाँ हुनुहुन्छ तयारीमा लाग्नुहोस । के के गर्नुपर्ने हो आदेश निर्देश आउँदै जान्छ । “आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको एक कार्यक्रममा आफ्ना कार्यकर्तालाई यि कुरा भन्दै थिए । देशको कार्यकारी पदमा आसिन ओलीको यो अभिव्यक्ति कत्तिको शोभनीय छ ? चौतर्फी प्रश्न उठेको छ । मुलुकमा संविधान छ । संविधान अनुसारका कानुनहरु छन् । शान्ति सुरक्षा कायम राख्न सुरक्षा अङ्गहरु छन् । के प्रधानमन्त्री ओलीलाई त्यसप्रति विश्वास नलागेको हो ? होइन भने यो उत्तेजक अभिव्यक्ति किन ?
जेठ १५ गते राजधानीमा राजतन्त्र समर्थकहरुले प्रदर्शन गर्ने पूर्वघोषणा गरेका थिए तर तिनै राजावादीहरुलाई रोक्न प्रधानमन्त्रीले कार्यकर्ता उतार्न खोजेका हुन भने राजावादीहरु झन उत्तेजित हुने खतरा छ । एमालेको कार्यक्रम राजतन्त्र समर्थकको कार्यक्रम घोषणा भएको धेरै समयपछि घोषणा भएको हो र प्रधानमन्त्रीको यो कदमले उनले राजतन्त्र समर्थकसँग आफ्ना कार्यकर्तालाई भिडाउन खोजेको स्पष्ट हुन्छ । राजधानीको सडकमा अरु कसैले कार्यक्रम घोषणा गरिसकेको अवस्थामा उनीहरुविरुद्ध आफ्ना कार्यकर्ता उतारेर प्रधानमन्त्रीले राजधानीमा हिंसा भड्काउन खोजेका छन् ।
प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिँदै भनेका छन् ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा नेकपा एमालेको नियन्त्रण हुनुपर्छ ।’ लाखौं मानिसहरु बसोवास गर्ने सिङ्गो राष्ट्रिय राजधानीलाई घण्टौंसम्म पार्टीको नियन्त्रणमा राख्ने प्रधानमन्त्रीको यो अभिव्यक्ति गैरकानुनी हो, असंवैधानिक हो । कुनै पनि पार्टीले सिङ्गो सहर नियन्त्रण गर्न पाउँदैन । यदि आफू प्रधानमन्त्री भएकै कारणले आफ्नो पार्टीले राजधानी नियन्त्रण गर्न पाउनुपर्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति हो भने त्यो सरासर गलत हो ।
उनले ‘आन्दोलनमा प्रोटोकल हुँदैन’ भन्दै नेता कार्यकर्ताहरुलाई नियम कानुन उल्लंघन गर्न समेत उक्साएका छन् । प्रधानमन्त्रीको यो निर्देशन नै गम्भीर प्रश्नको घेरामा छ । सत्ता र शक्तिमा केपी शर्मा ओली आफैं छन्, उनीमाथि सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लाग्छ कि लाग्दैन ? हामी सर्व साधारणलाई सचेत गराउन चाहन्छौं कि १५ गते राजधानी नजानु । गए पनि सावधान रहनु ।
