चैत १५ को घटनामा सरकारले मेडिकल व्यवसायी तथा राजावादी नेता दुर्गा प्रसाईं लगायत १५ जनालाई ज्यान मुद्दा लगाउदै छ भने राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई छिटै हिरासत मुक्त गर्ने भएको छ ।
प्रहरीले तीनकुने प्रकरणमा दुर्गा प्रसाईँसहित ७ जनाविरुद्ध ज्यान मुद्दा लगाउने तयारी गरेको छ । उनीहरूलाई हिजो थप ५ दिन हिरासतमा राख्न प्रहरीले अदालतसँग अनुमति लियो ।
विभिन्न मितिमा पक्राउ परेका प्रसाईँसहित सन्तोष राजावादी भनिने सन्तोष कुमार सिलवाल, हरिहर चौलागाईँ, तारा राजावादी भनिने सरोज गौतम, गोकर्ण शाही, दण्डपाणि रेग्मी र हेमराज थारुलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको हो । विभिन्न मितिमा पक्राउ परेका उनीहरूलाई गत चैत १५ गते भएका विभिन्न हिंसात्मक घटनामा दोषी ठह¥याउने प्रहरीको प्रयास छ ।
उनीहरूको बयान सकिएको छैन । वारदातको प्रत्यक्षदर्शी लगायत साक्षीहरूको थप घटना विवरण कागज गर्ने, सम्बद्ध विभिन्न कार्यालयहरूमा पत्राचार गरी जवाफ प्राप्त गर्ने लगायतका १९ वटा अनुसन्धान कार्य बाँकी रहेको प्रहरीको भनाई छ । सोही कारण देखाएर प्रहरीले १५ दिन थप म्यादको माग गरेको थियो । तर जिल्ला अदालत काठमाडौंले ५ दिन उपलब्ध गरायो ।
आइतबार जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासमा भएको सुनवाइमा वादी सरकारका तर्फबाट सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता गोकुल बहादुर निरौलाले बहस गरेका थिए । प्रतिवादीहरूको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय विष्णुप्रसाद भट्टराई र डा. सुरेन्द्र भण्डारीले बहस गरे ।
‘प्रतिवादीहरूका तर्फबाट उपस्थित विद्वान् वरिष्ठ अधिवक्ता तथा विद्वान् अधिवक्ताहरूले मिति २०८२÷०१÷१० मा भएको म्याद थप अनुसार कसुरमा संलग्नता देखिने प्रमाण संकलन गर्न बाँकी रहेको स्पष्ट विवरण अनुसन्धान पेश गर्न नसकेको, प्रतिवादीमध्येका रवीन्द्र मिश्रको हकमा अनुसन्धान गर्नु पर्ने कार्य के कति रहे भएको हो म्याद थप पत्रमा स्पष्ट हुन नसकेको साथै बाँकी अनुसन्धान कार्य के कति दिनभित्र गर्न सकिने हो इजलासबाट स्पष्ट गरी म्याद थप हुनु पर्छ भनी गर्नु भएको बहससमेत सुनियो ।
अदालतको आदेशमा उल्लेख गरिए अनुसार प्रतिवादीहरूको गत वैशाख १० गते म्याद थपपश्चात् प्रतिवादी देवीप्रसाद संग्रौलाको बयान, खानतलासी तथा बरामदी मुचुल्का, फरार रहेका प्रतिवादीहरूको पक्राउ, निजहरूको बयान लगायतको मूल्याङ्कन भएको थियो । त्यसपछि वैशाख १५ गते पुन ७ दिन म्याद थप गरियो । उक्त म्याद थप पछि भिडियो विवरण पेश गरेको प्रतिवेदन, विभिन्न व्यक्तिहरूको घटना विवरण कागजहरू, विभिन्न कार्यालयहरूमा पत्राचार, फरार प्रतिवादी पक्राउ गर्ने कार्य, पक्राउ प्रतिवादीको बयान, घटनाक्रमहरूको समय तालिका विवरणसमेतको कार्य सम्पन्न गरिएको आदेशमा उल्लेख छ ।
केही प्रतिवादीहरूको ज्यान सम्बन्धी कसुरमा बयान कार्य बाँकी नै रहेको र पत्राचार गरिएका कार्यालयबाट जवाफ प्राप्त गर्ने कार्यसमेतका बाँकी नै देखिएको अदालतले जनाएको छ । उपस्थित प्रतिवादीहरूलाई बाँकी अनुसन्धान शीघ्रताको साथ सम्पन्न गर्न संगठित अपराध निवारण ऐन, २०७० को दफा १४ बमोजिम मिति २० गतेदेखि लागू हुने गरी छैटौं पटक दिन ५ (पाँच) म्याद थप गरिदिए थियो ।
प्रतिवादीमध्येका दुर्गा प्रसाद प्रसाईँले क्यान्सरको उपचारको लागि साधारण तारिख वा हाजिर जमानीमा छाड्न पाउँ भनी निवेदन दिएका छन् । तर उनको ज्यान सम्बन्धी कसुर मुद्दामा बयान गराउने कार्य बाँकी नै रहेको भन्ने देखिएकोले निवेदन माग अनुसार साधारण तारेख वा हाजिर जमानीमा छाड्न नमिलेको अदालतले बताएको छ ।
प्रसाईँको स्वास्थ्य उपचारमा उचित प्रबन्ध गर्न यसअघि भएको आदेशलाई न्यायाधीशले निरन्तरता दिएका छन् । पूर्वदेशानुसार प्रतिवादी दुर्गा प्रसाद प्रसाईँको स्वास्थ्य उपचारको लागि उचित प्रबन्ध गर्न आदेश गरिएको छ ।
