राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण सहित नेपाली जनताले चाहेको तीव्र विकासको आकाङ्क्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । नयाँ बर्षको दिन नगरकोट भ्रमण वर्ष ‘२०८२’ को नगरकोटमा रहेको बतासे डाँडामा हिजो उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सांस्कृतिक, ऐतिहासिक, धार्मिक धरोहरलाई आर्थिक विकासमा रुपान्तरण गर्न पूर्वाधारको विकास र कौशल बढाउनुपर्ने र यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति, सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको आधारकोरूपमा स्थापित गर्न सकिने प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रकृति, संस्कृति र इतिहासको सङ्गम रहेको नगरकोटमा यो भ्रमण बर्षले सबैमा फाइदा पुग्ने बिश्वास व्यक्त गर्नुभयो । संघिय सांसद एवं पुर्बमन्त्री गोकुल प्रसाद बास्कोटाले पर्यटन प्रबद्र्धनले नै देशको बिकास हुने भएकोले पर्यटकहरुलाई सहजै पुग्नसक्ने सडक निर्माणमा आफुले जोड दिईरहेको बताउनुभयो । समग्र काभ्रे जिल्लाको बृहत्तर बिकासका लागि आफुले कार्य गरिरहेको उहाँको भनाइ रहेको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका, काठमान्डौ जिल्लाको शंखरापुर नगरपालिका र भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाले संयुक्त रुपमा आफ्नो पर्यटकिय सीमाना क्षेत्र रहेको नगरकोटमा आयोजना गरेको भ्रमण वर्षले ती क्षेत्रका प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक महत्त्वका वस्तुहरुको प्रचार–प्रसार गर्ने उद्देश्य राखिएको छ । नगरकोट भ्रमण वर्ष कार्यक्रम नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा हुँदैछ भने यसको प्रर्वधकमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड रहेका छन् । भ्रमण वर्ष १ वर्षभरी चल्ने र सो क्रममा १ लाख अन्तर्राष्ट्रिय र १० लाख आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य रहेको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले स्वागत मन्तव्य राख्नुभयो भने बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । भ्रमण बर्ष कार्यक्रमका संयोजक मण्डनदेउपुर नगरप्रमुख टोक बहादुर वाइबाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा चारवटै नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, वडाध्यक्ष, पूर्व तथा वर्तमान जनप्रतिनिधि, सामाजिक संस्था, पर्यटन व्यवसायी एवं सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो । भ्रमण वर्ष उद्घाटनका अवसरमा ५० भन्दा बढी स्टल, स्थानीय कृषि उत्पादन, फुड स्टल, झाँकी प्रदर्शनी, कला चित्रांकन, कला संग्रहालय स्थापना लगायतका गतिविधिहरू भएका थिए । भोलि बैशाख २ गते लोकदोहोरी समूह ‘इन्द्रेणी’, र बैशाख ३ गते गायक प्रकाश सपुत र स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ । उक्त अवसरमा होटल व्यवसायीहरूले नयाँ वर्षको बैशाख १, २ र ३ गते १५ प्रतिशत छुट तथा भ्रमण वर्ष अवधिभर १० प्रतिशत छुट दिने घोषणा गरेका छन् । काठमाडौं–नगरकोट सिधा बस सेवा पनि सुरु गरिएको छ । नगरकोट भ्रमण वर्ष २०८२ ले त्यस क्षेत्रको पर्यटन, कृषि पर्यटन, सांस्कृतिक विविधता र आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकले लिएका छन् । भ्रमण वर्षलाई वर्षभरी नै महोत्सवको रुपमा लिएर जाने आफूहरुको संकल्प रहेको सरोकारवालाहरुले बताएका छन् । नगरकोट तीनवटा जिल्ला र चारवटा नगरपालिकाको सिमानामा रहेको छ ।
