IMG-LOGO

हेलो सरकार फेरि सक्रिय भयो

 मंगल, भदौ १९, २०८०  ---

          डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा स्थापना भएको हेलो सरकार फेरि सक्रिय भएको छ । यो सेवा चौबीसै घन्टा जनताको सेवामा सेवारत रहने कुरा प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

२४ सै घन्टा सञ्चालन, तीन सिफ्टमा काम हुनेछ ।

– यसअघि नेपाल टेलिकम मात्र रहेकामा अब ११११ मा एनसेलबाट पनि गुनासो टिपाउन सकिने

– तीन उपसचिवसहित २५ जना कर्मचारी व्यवस्थापन

– फोन, इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट समेत गुनासो टिपाउन सकिने

– तत्काल समस्या समाधानका लागि ‘¥यापिड रेस्पोन्स टिम’

– गुनासोका प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था

– प्रदेश र स्थानीय तहमा समेत सञ्जाल विस्तार गरिँदै

          नागरिकले गुनासो गर्ने ‘प्लेटफर्म’ हेलो सरकारलाई सक्रिय बनाइएको छ । लामो समयदेखि निष्क्रिय रहेको हेलो सरकार २४ सै घन्टा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार हेलो सरकारको विस्तारित सेवा सञ्चालनको उद्घाटन गर्नु भएको हो ।

          १७ कात्तिक ०६८ देखि सञ्चालनमा रहेको हेलो सरकार लामो समययता निष्क्रिय छ । यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा सेवा विस्तार गरिएपछि एनसेलबाट समेत गुनासो राख्न सकिने भएको छ । फोन, इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएपलगायतका डिजिटल माध्यमबाट समेत गुनासो टिपाउन सकिने गरी प्रबन्ध गरिएको छ । हेलो सरकारको डेस्कले प्राप्त गुनासाहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।

          हेलो सरकार २४ सै घन्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका बनाएर सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ । त्यसका लागि नेपाल सरकारका तीनजना उपसचिवसहित २५ जना कर्मचारी खटाइएको छ । आवश्यकताअनुसार विश्वविद्यालयहरूसँग सम्झौता गरी ‘इन्टर्न’मा आवश्यक मात्रामा विद्यार्थी लिन सक्ने व्यवस्थासमेत गरिएको छ । यसअघि हेलो सरकार दुई सिफ्टमा सीमित कर्मचारीले सञ्चालन गर्दै आएका थिए । हेलो सरकारमा आएका गुनासाका प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ ।

          प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित गुनासाहरू सीधै सम्बोधन गर्ने व्यवस्था पनि गरिएको छ । गुनासाहरू सम्बोधनका निम्ति ‘¥यापिड रेस्पोन्स टिम’समेत गठन गरी कार्यान्वयनमा ल्याइएको मुख्यसचिव डा. बैकुण्ठ अर्यालले जानकारी दिनुभयो । उक्त टिमले सम्बन्धित निकायमा पठाइएका गुनासाहरू कार्यान्वयन भए÷नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।

          सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनीभूत गराउन र शासकीय प्रणालीमा उनीहरूको सहभागितालाई सक्रिय तथा सशक्त बनाउन हेलो सरकारले भूमिका खेल्ने प्रधानमन्त्री प्रचण्डले बताउनु भयो । ‘हेलो सरकार विभिन्न उतारचढावका बीच २४ सै घन्टा सञ्चालन गर्ने अवस्थासम्म आउनु हाम्रा लागि खुसीको कुरा हो,’ उहाँले भन्नुभयो, ‘सरकार र जनताबीचको सम्बन्ध थप सुदृढ भइ जनसेवा सवलीकरणका निम्ति यो सेवा विस्तार कार्यक्रमले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु प्रम प्रचण्डले भन्नुभयो ।’

          मुख्यसचिव डा. बैकुण्ठ अर्यालले हेलो सरकारमा परेका गुनासो फस्र्योट गर्नेसम्बन्धमा मन्त्रालय र निकायहरूको सक्रिय भूमिका आवश्यक हुने बताए । प्राप्त भएका गुनासा छिटो सम्बोधन गर्न उनले सबै सचिवहरूलाई निर्देशन दिनुभयो ।

          सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ र नियमावली, २०६५ मासमेत नागरिकका गुनासो सुन्ने व्यवस्था रहेको र हाल हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०८० मार्फत् गुनासो सुनुवाईलाई प्रभावकारी बनाइएको प्रम कार्यालयका सचिव पाण्डेले उल्येख गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्