अविरल वर्षाले नदीमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । कोशी, नारायणी, कर्णाली, बबईको जलसतह सतर्कता तह आसपास रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो । महाकाली नदीको जलसतह खतरा आसपास रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती तथा यसका सहायक नदीको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेका छन् । हिजो पाँचथर, इलाम, झापा, सङ्खुवासभा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, कास्की, लमजुङ, म्याग्दी, बाजुरा, सुर्खेत, दैलेख, अछाम, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही ससाना नदीको बहाव सामान्य रहने महाशाखाले पूर्वानुमान गरेको छ ।
अझै केही दिन वर्षा हुने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वर्षा अझै केही दिन जारी रहनेछ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज र भोलि बदली तथा वर्षा हुने बताए । ’आज र भोलि बदली र वर्षा हुनेछ, तथापि गत शनिबार र आइतबारको तुलनामा भने वर्षा कम हुने अनुमान गरिएको छ, सोमबार र मंगलबारको तुलनामा आगामी बुधबार वर्षा बढी हुनेछ,’ उनले भने । अहिले सुदूरपश्चिमलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ । रातिको समयमा कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलबार रातिको समयमा कोशी, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।
कागखोलामा पहिरो फुट्दा कागबेनीमा बाढी
पहिरो फुट्दा कागबेनीमा बाढीले क्षति गरेको पाइएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी बजारस्थित कागखोलामा आइतबार राति ७ बजेर ४० मिनेटमा एक्कासि बाढी आएको थियो । बाढीका कारण कागबेनी लोमान्थाङ जाने पक्की पुल र काठे पुल बगाएको छ । बजार क्षेत्र लेदोमग्न भएको नेपाली सेनाले जनाएको छ । भारी वर्षाका कारण मुक्तिनाथ क्षेत्रमा बाढी आएको चर्चा चलेपनि प्रारम्भिक अनुसन्धानमा खोला फुटेर एक्कासि बाढी आउँदाको असर रहेको पाइएको हो । जल तथा मौसम विज्ञान विभागका बाढी पूर्वानुमान महाशाखाका वरिष्ठ हाइड्रोलोजिस्ट सनिल पोखरेलले कागबेनी दोभानमा कालीगण्डकीसँग मिसिने कागखोला मुक्तिनाथ क्षेत्रमा थुनिएर एक्कासि फुट्दा तटीय क्षेत्रमा बाढी आएको बताए । ’कागखोला माथितिर खोला थुनिएर त्यहाँ जम्मा भएको लेदोसहितको गेग्रान फुट्दा एक्कासी बाढी आयो ।
काभ्रे जिल्लामा कहाँ के भयो ?
अविरल वर्षात परेको कारण काभ्रे जिल्लाको रोशीपारी, कोशीपारी र डाडापारी क्षेत्रमा पहिरो गएर सडकहरु क्षतविक्षत भएका बछन् । डोजरको माध्यमबाट सडकको पहिरो हटाएर जिल्ला सदरमुकाम सम्म यातायातका साधन आवतजावत गर्न सहज भएपनि फेरी वर्षात हुने वित्तीकै यातायात सुचारु निक्कै कठीन हुने अवस्था छ । वर्षातका कारण बनेपा वडा नं. ८ र १० पुलबजार क्षेत्र करीब डेढ मिटरजति पानी जमेर यातायात साधन आवतजावतमा असहजता भएको थियो । तीनदिन अघि बनेपा पुलबजार ट्राफिक प्रहरी कार्यालय अघि पुन्यमाता खोला नाघेर वरीपरीका बजार क्षेत्र भुइतला सबै डुवान भएको थियो ।ग्रामीण भेग विकट क्षेत्र खानी खोला गाउँपालिका–५ काभ्रेका ६ जना र सिन्धुली जिल्ला हरिहरपुका १ जना गरी ७ जनालाई सुतिरहेको अवस्थामा घरसहित खोलाले बगाउँदा ४ जना अभैm वेपत्ता भएको खोजी कार्य जारी रहेको कुरा जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । दुईजनाको मृत अवस्था मै उद्धार गरेको प्रहरीले जनाएको छ । काभ्रे, सिन्धुली र मकवानपुर जिल्लाको तीनवटै जिल्ला जोडीने क्षेत्र बागमती गाउँपालिका वडा नं. ५ शिक्रे दोभानमा, खानीखोला गाउँपालिका वडा नं. ७ केरावारी घरभएका प्रेम स्याङतान लामाको घरमा किराना पसल गर्दै आएका खानीखोला वडा नं. ५ का अक्कल बहादुर स्याङतान लामा, श्रीमती शान्तिमाया स्याङतान, छोरी शिला स्याङतान, ज्याइ जीवन पहरी रहेका छन् । करीव दुई वर्षीय छोरा देवर पहरी, एक वर्षीय देब्यानी पहरी पुरीएको कुरा जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । पुरीएका मध्ये शान्तिमाया स्याङतानको उद्धार गरी मकवानपुरको भोर्लेनीमा लागिएको थियो । लाँदा लाँदै बाटो मै नीधन भएको प्रहरीले जनाएको छ ।
