गत सातायता प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ । आँखा पाक्ने रोग सर्ने भएकाले सजक र सम्पर्क रहौं ।
‘जुन गतिमा आई फ्लुको संक्रमण बढिरहेको छ, यो खतराको संकेत हो, कीर्तिपुर आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा। एरिक वैद्य भन्नु हुन्छ, ‘एक व्यक्तिबाट अर्कोमा फैलिने यो संक्रमणले महामारीको रूप लिन सक्ने जोखिम देखिएको छ । सामान्यतया मनसुनको समयमा बढी फैलने यो संक्रमण यस पटक भने विगतको दाँजोमा तीव्र रूपमा देशभर फैलिरहेको तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ प्राडा रोहित सैजुले बताए । यस पटकको संक्रमण भारत र नेपालको सीमावर्ती क्षेत्रबाट सुरु भएको हो ।
मधेश प्रदेशमा यो संक्रमण अत्यधिक वृद्घि भइरहेको औंल्याउँदै जानकी आँखा अस्पताल, जनकपुरका नेत्र रोग विशेषज्ञ डा. अमित यादव बहिरंग विभागमा हाल दिनहुँ हजारको संख्यामा आँखा रोग संक्रमित आउने गरेको बताउनु भयो । उनले यो रोग प्रकोपका रूपमा फैलिरहेको र महामारीकै रूप लिन सक्ने जोखिम रहेको बताउनु भयो ।
नेपाल नेत्र ज्योति संघको देशभरका २७ वटा आँखा अस्पताल र १ सय ५० आँखा उपचार केन्द्रबाट संकलित तथ्यांकले पनि आँखा पाक्ने रोग देशभर प्रकोपका रूपमा पलिरहेको र कुनै पनि बेला महामारीको रूप लिने जोखिम रहेको देखिएको छ । संघका अनुसार पछिल्लो साता पूर्व विराटनगरदेखि सुदूरपश्चिमको धनगढीसम्म आँखा पाक्ने रोग संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । केही अस्पतालका बहिरंग विभागमा आउने बिरामीमध्ये ८० प्रतिशतभन्दा बढी त आँखा पाक्ने रोगको उपचार गराउन आउनेहरू रहेको चिकित्सक भनाइ छ ।
लुम्बिनी प्रदेशमा तराईभन्दा पहाडमा बढी संक्रमण देखिएको डा. मिश्रले भन्नुभयो । फतेह बाल आँखा अस्पतालमा करिब २० प्रतिशत र लुम्बिनी आई इन्स्टिच्युटमा १२ प्रतिशतमा आँखाको संक्रमण देखिएको छ । भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग काठमाडौं उपत्यकामा समेत देखिन थालेको छ । पछिल्लो समय कीर्तिपुर आँखा अस्पतालको बहिरंग विभागमा कुल बिरामीमध्ये सरदर २० देखि ३० प्रतिशत आँखाको संक्रमण समस्या लिएर पुग्ने गरेका छन् । ‘पछिल्लो समय भारत र त्यसपछि सीमावर्ती नेपाली क्षेत्रमा देखिएको आँखाको संक्रमण हाल राजधानीमा समेत देखिएको छ, कीर्तिपुर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा। एरिक वैद्यले भन्नुभो ।
जनकपुरस्थित जानकी आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा. अमित यादव र विराटनगर आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। रक्षा पन्तका अनुसार सहरी र ग्रामीण क्षेत्रका बालबालिकामा यो संक्रमण बढी देखिएको छ । डा. पन्तका अनुसार संक्रमण सामान्यतः ७ देखि १० दिनसम्म रहन्छ । तर, कसै–कसैमा भने जटिल बनेर आँखाको कोर्नियामा समेत असर गर्न सक्छ । त्यसैले संक्रमण देखिनासाथ उपचार प्रक्रियामा जानु आवश्यक रहेको उनले बताउनु भयो ।
यो रोग लाग्दा संक्रमित व्यक्तिको आँखाबाट पानी निस्कने, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले स्वस्थ व्यक्तिको आँखामा पुग्दा संक्रमण सर्छ । त्यसैले संक्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले धुनुपर्ने चिकित्सकको सुझाव छ । यस्तो संक्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न दिनु हुँदैन ।
