स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले पैसा नभएर कुनैपनि नागरिकलाई उपचार बिना मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । धुलिखेल अस्पतालले सोमबार आयोजना गरेको दोश्रो आधारभूत जिवनरक्षा दिवसलाई अस्पतालको अडिटोरियम हलमा सम्बोधन गर्दे उहाँले दुई वटा राजमार्गको नजिक रहेको धुलिखेल अस्पतालले ट्रमालाई विशेष ध्यान दिई उपचार गर्नुपर्नेमा जोड दिनुभयो । निः शुल्क स्वास्थ्य उपचार नागरिकको नैसर्गिक अधिकार भएपनि पूर्ण कार्यान्वयनमा आउन नसकेको बताउँदै बस्नेतले गरिब, बिपन्न नागरिकलाई नि ःशुल्क उपचार गर्ने कार्यको सुरुवात भैसकेको उल्लेख गर्नुभयो । स्वास्थ्य क्षेत्रको सुधारमा आफूले विशेष ध्यान दिएको उहाँले दावी गर्नुभयो । दुर्गम भेगमा कर्मचारी नजाने परिस्थितिलाई कठोरताका साथ सुधार गरिरहेको, सरकारी अस्पताललाई नागरिक मैत्री एवं सुविधा सम्पन्न बनाउँदै लगिएको भन्दै उहाँले सामान्य रोग लाग्दा पनि विदेशमा उपचार गराउन जाने भि.आइ.पि लाई अंकुश लगाउँदै देशमै उपचार गराउने प्राबधान ल्याइएको जिकिर गर्नुभयो । अस्पतालका संस्थापक प्रा.डा रामकण्ठ माकजुले हरेक स्थानीय तह एवं सरोकावालाहरुसँग समन्वय गर्दै स्वास्थ्य सेवा प्रबद्र्धन गर्न अस्पताल तयार रहेको बताउनुभयो । आधारभूत जिवनरक्षा तालिम देशैभर फैल्याई मृत्यु हुने दरमा कमी ल्याउन सक्ने उहाँको दावी छ । हार्ट–अट्याक जस्ता रोगहरु बाट बेहोस पिडित बिरामीहरुलाई पहिलो उपचार अन्तरगत तत्कालै बेसिक लाईफ सपोर्ट तालिम लिएका जो कोहिले पनि प्राथमिक उपचार गर्न सक्नेछन् । अस्पतालका निर्देशक डा. राजेन्द्र कोंजुले आधारभूत जिवनरक्षा तालिम सबै नागरिकलाई उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । अस्पतालले दिएको उक्त तालिमबाट २५ जना ट्रेनर उत्पादन भैसकेका छन् । अस्पतालले सिन्धुपाल्चोक र काभे्र जिल्लामा यो तालिम दिइरहेको छ । डा. संगिना रञ्जितले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा डा. रोहित श्रेष्ठले ट्रमा लगायत अन्य सेवाको बारेमा नागरिकहरुले अस्पतालप्रति दिएको सन्देशमुलक भिडियो प्रस्तुत गर्नुभयो । काठमाण्डौ विश्व विद्यालय स्कुल अफ मेडिकल साइन्सका नव नियुक्त डिन मनोज हुमागाईलाई स्वागत एवं सम्मान, सिन्धुपाल्चोक रेडक्रसका अध्यक्ष राजेन्द्र मान ताल्चाभडेललाई कदरपत्र प्रदान गरिएको कार्यक्रमको सञ्चालन प्रो. डा आभा श्रेष्ठले गर्नुभएको थियो ।
