अर्थतन्त्रमा देखा परेको असिमित चुनौतीका चाङलाई चिर्न नीजि क्षेत्रको महत्वपर्ण भूमिका हुँने हुँदा सरकार हातेमालो गर्दै उद्योगी व्यवसायीलाई साथमा लिएर अधि बढ्न चाहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताए ।
हिजो नेपाल चेम्बर अफ कर्मशको ७२ औं वार्षिक साधारण सभा सम्बोधन गर्दै उनले सरकारका पछिल्ला सय दिनमा अर्थतन्त्रमा क्रमिक सुधार आएको बताए । ‘बाहिर अर्थतन्त्र समस्यामा गयो, ध्वस्त भयो जस्ता कुराहरू आएका छन् तर तीन महिनामा अर्थतन्त्रमा क्रमिक रुपमा सुधार आएको छ, ’प्रधानमन्त्री दाहालले भने, ‘जसरी संकट छ, संकट छ भनेर भन्ने गरिएको छ त्यस्तो स्थिति छैन् ।’ हाल विदेशी मुद्रा सञ्चिति १० महिनाभन्दा बढीलाई पुग्ने स्थिति रहेको बताए ।
अर्थमन्त्री प्रकाश शरण महतले अहिले अर्थतन्त्रमा समस्या देखा परे पनि निराशाजनक अवस्था भने नरहेको बताए । नेपालको अर्थतन्त्रमा केही समस्या भए पनि सोचेको जस्तो निराशाजनक अवस्था नरहेको देशमा अस्थिरता चाहने तत्वले भ्रम श्रृजना गरेको महतको भनाइ छ । ‘हाम्रो अर्थतन्त्र हामीले सोचेको जस्तो धेरै समस्याग्रस्त छैन,’ उनले भने, ‘अर्थतन्त्र बिग्रियो–बिग्रियो भन्ने धारणाले गर्दा मात्र हाम्रो सोच नकारात्मकतातिर गयो । यसलाई सकारात्मक बनाउन आपूm तयार रहेको बताए ।
लगानीको माहोल नकारात्मक भएका कारण लगानी भित्र्याउन कठिन भएको उनले बताए । उनले ऋणको ब्याजदर वृद्धि हुँदा ‘रेट अफ रिटर्न’ उकालो लागेकोले उप्ठ्यारो परेको बताए । यसका लागि पनि ब्याजदर कम गर्ने कुरामा राष्ट्र बैंकसँग कुरा गरेर केही राहत दिने उनको भनाइ छ । यस्तै ऋण नतिर्ने अभियान राज्यले सहन नसक्ने बताउँदै उनले भने, ‘ऋण लिएर तिर्दिनँ भन्ने कुरा गलत हो ।’ व्यवसायमा आएको मन्दीका कारण समस्या भएमा राहत र केही सहुलियत दिन सकिने महतको तर्क छ ।
बैंक तथा वित्तीय संस्थाहरूले कर्जामा लागू गरेको उच्च ब्याजदरका कारण व्यावसायिक क्षेत्रमा हालको विषम परिस्थिति उत्पन्न भएको चेम्बर अध्यक्ष राजेन्द्र मल्लले बताए । राजस्वले चालु खर्च पनि धान्न नसक्ने अवस्था हुनु देशका लागि सुखद संकेत नभएको भनाइ राख्दै उनले भने, ‘आर्थिक गतिविधि विस्तार गरी राजस्व लक्ष्य वृद्धि गर्नु आजको आवश्यकता हो ।’ पूँजीगत खर्च ३० प्रतिशतमा खुम्चिएको र आगामी ३ महिनामा ७० प्रतिशत विकास खर्च गर्नुपर्ने बाध्यता रहेको भन्दै समयमा उद्देश्य अनुसार पूँजीगत खर्च गर्न नसक्दा देशले तरलता चाप खेपिरहेको बताए ।
काभ्रेका जनजाती पत्रकारलाई खोज पत्रकारिता तालिम
धुलिखेल÷काभ्रेपलाञ्चोक जिल्लाका आदिवासी जनजाती पत्रकारलाई तीन दिने खोजी तथा डिजिटल मिडियाको बारेमा तालिम दिईएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काभ्रेको आयोजनमा भएको तालिममा जिल्लाका विभिन्न पालिकाका ३० जनाको सहभागिता रहेको थियो । फोनिजका केन्द्रीय अध्यक्ष गजुरधन राईले फोनिज काभ्रेले निक्कै रचनात्मक कामहरु गर्दै आएको बताउनुभयो । उहाँले यस्ता रचनात्मक कार्यले फोनिजको उपस्थिती झनै बलियो हुने अवस्थामा पुग्ने स्पष्ट पार्दै अझै यस्ता कार्यक्रम गर्न केन्द्रले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले फोनिज संघिय समितिले देशै भर तालिम संचालन गर्न केन्द्रीय उपाध्यक्षको नेतृत्वमा प्रशिक्षण विभाग गठन गरिएको बताउनु भयो ।
तालिममा सहभागीलाई प्रमुख अतिथि राईले प्रमाणपत्र वितरण गरिएको थियो । फोनिजका केन्द्रिय उपाध्यक्ष एवं प्रशिक्षण विभाग प्रमुख अमरध्वज लामाले काभ्रे जिल्लामा फोनिजले देखाएको सकृयता एउटा असल उदाहरणको रुपमा स्थापित बनेको बताउँदै आगामी दिनमा पनि यस्तै सकृय बन्न अनुरोध गर्नुभयो । फोनिज केन्द्रले देशभर तालिम लगायत विभिन्न कार्यक्रमहरु गर्नको लागि ६० जिल्लामा रहेका शाखाहरुलाई परिपत्र समेत गरिएको लामाले बताउनुभयो । समापन कार्यक्रममा फोनिज बागमती प्रदेश इन्चार्ज पेमा लामाले काभ्रे जिल्लाले बागमती प्रदेशमै पहिलो पटक तालिम संचालन गरेर अरु जिल्लालाई पनि थप प्रेरणा दिएको बताउनुभयो । तालिमको समापन सभामा बोल्दै कार्यक्रमको सभाअध्यक्ष एवं फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापाले तालिमको लागि थोरै दिन भएपनि तालिममा सहभागिहरुले धेरै कुराहरु सिक्ने अवसर पाएको बताउनुभयो ।
तीन दिन सम्म चलेको तालिम रोशी गाउँपालिकाको आर्थिक सहयोगमा फोनिज कभ्रेको आयोजनमा संचालन भएको थियो । तालिम समापन कार्यक्रममा फोनिज बागमती प्रदेश स्थानीय सञ्चार हित प्रर्वद्धन विभागका संयोजक उजाड रक्तिम, प्रेस सेन्टर काभ्रेका अध्यक्ष रोजन तामाङ, फोनिज काभ्रेका संस्थापक सल्लाहकार मानकाजी सुवाल लगायतको उपस्थिती रहेको थियो ।
