IMG-LOGO

उप–निर्वाचनको सरगर्मी सुरु

 मंगल, चैत २१, २०७९  ---

 

      आगामी बैशाख १० गते हुने उप–निर्वाचनको चुनाव सरगर्मी ह्वात्तै बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले चितवन–२ मा उम्मेदवारी दर्ता गरेका छन् । आगामी १० वैशाखमा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि हिजो लामिछानेले मनोनयन दर्ता गरेका हुन् ।  उनी पार्टीको दलबलसहित मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । यसअघि मंसिर ४ गते भएको निर्वाचनमा पनि लामिछाने सोही क्षेत्रबाट निर्वाचित भएका थिए । यस क्षेत्रको उपनिर्वाचनमा कांग्रेसबाट चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरीले उम्मेदवारी दर्ता गरेका छन् । १० वैशाखमा चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदै छ । जसमा हिजो मनोनयनका लागि समय तोकिएको छ ।

तनहुँ–१ उपनिर्वाचन ः रास्वपा, कांग्रेस र एमालेबीच त्रिपक्षीय प्रतिश्पर्धा

      दमौली । तनहुँ क्षेत्र नंं १ मा हुने उपनिर्वाचनका लागि यही चैत १८ गते सञ्चालनमा आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हिजो बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ । यसैबीच उपनिर्वाचनका लागि तनहुँमा सात सय ६० जनशक्ति परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले हाल कर्मचारीको विवरण संकलनको काम भइरहेको जानकारी दिए । उनले भने, “कर्मचारी खटनपाटनको काम चैत मसान्तबाट हुन्छ ।” तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका ४२ वडामा ६९ मतदानस्थल तथा एक सय ५२ मतदान केन्द्र छन् । प्रत्येक मतदान केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटाउने तयारी गरिएको बताए ।

      निर्वाचन आयोगले तनहुँ १ को मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई नियुक्त गरेको छ । जिल्ला समन्वय समितिको कार्यालय भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत आचार्यले सबैको सहयोगबाट निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्षरुपमा सम्पन्न गर्न सकिने बताए । तनहुँ–१ मा एक लाख २३ हजार चार सय ९० मतदाता रहेकामा आगामी वैशाख १० गते आइतबारका दिन हुने उपनिर्वाचनका लागि यो क्षेत्रमा एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएको छ । मतदाता नामावली अद्यावधिकका क्रममा मृत्यु भएका, दोहोरो नाम भएका, बसाइँसराइ गरेकाको नाम हटाउँदा मतदाता घटेको निर्वाचन कार्यालयले जनाएको छ। उपनिर्वाचनका लागि माघ २९ गतेसम्म मतदाता नामावलीमा दर्ता गरेकाले मत हाल्न पाउने निर्णय भएको कार्यालयले जनाएको छ ।

      मङ्सिर ४ गतेसम्म तनहुँ १ मा एक लाख २३ हजार चार सय ९० मतदाता थिए। निर्वाचनमा ६६ हजार नौ सय ६५ मत खसेकामा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार तीन सय १८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी नेकपा (एमाले) का एकबहादुर रानाले १९ हजार नौ सय ४३ मत प्राप्त गरेका थिए। कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपतिपदमा निर्वाचित भएपछि रिक्त रहेको यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । सो क्षेत्रमा नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सवेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्लेबीच प्रतिश्पर्धा हुँदैछ ।

बारा–२ मा एमाले उम्मेदवार पौडेल

      बारा– २ को उपनिर्वाचनका लागि नेकपा एमालेले आफ्नो उम्मेदवार टुंग्याएको छ । पार्टी सचिवालय बैठकले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको नाम उम्मेदवारका रूपमा टुंग्याएको मधेश प्रदेशका सांसद तथा एमाले प्रदेश सह–इन्चार्ज अच्युत मैनालीले बताए । पौडेल ०५१ सालमा संसद् र दोस्रो संविधानसभाका सदस्य भएका थिए । २०७० सालमा उनी युवा तथा खेलकुदमन्त्री बनेका थिए । प्रतिनिधिसभाको बारा निर्वाचन क्षेत्र नम्बर– २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनता समाजवादी पार्टीका उम्मेदवारलाई सघाउने भएको छ । जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उम्मेवार बनाएको छ । यसअघि बारा–२ बाट एमालेको सहयोगमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । जसपा संसदीय दलको नेता बनेका उनलाई उपराष्ट्रपति बनाएपछि जसपा अध्यक्ष आफैं त्यही क्षेत्रबाट चुनाव लडेर संसद् छिर्ने दाउमा छन् ।

      बारा –२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो । बारा– २ मा कांग्रेस, माओवादी केन्द्र लगायतका सत्तारुढ दलहरूले पनि यादवलाई नै सघाउने निर्णय गरिसकेका छन् । बारा– २ सहित चितवन– २ र तनहुँ– १ मा २०८० बैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि हिजो सोमबार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्