माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले चार दिनभित्रै सरकारलाई पूणर्ता दिने बताएका छन् । हिजो प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीमाझ ४ दिन भित्रै सरकारलाई विस्तार गरी पूणर्ता दिने बताएका हुन् । प्रधानमन्त्री दाहालले सरकारलाईं पूणर्ता दिनका लागि सरकारलाई समर्थन दिएका सबै दलहरुसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि स्पष्ट पारे ।
आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अब जनजीवीकाको सवालमा सरकारले काम गर्ने दाबी गरे । प्रधानमन्त्री दाहालले भने, ‘अब आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि बिहानबाट सरकारलाई पूणर्ता दिने प्रक्रिया सुरु हुन्छ । जो-जो दलहरुसँग हाम्रो गठबन्धन भएको छ, सहमति भएको छ । सबैसँग बसेर २/४ दिन भित्रमै सबै टुंग्याउने र अनि काम गर्ने विचार छ । अब ढुक्कले सरकार चल्छ । अब विकास, निर्माणको कार्यले तिव्रता लिन्छ ।’ प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमण चैतको अन्तिम हप्ता वा वैशाख पहिलो हप्ताभित्र हुन सक्ने बताए । उनले भने, ‘भारत भमणको टुंगो छैन । सायद यो महिनाको अन्त्यतिर वा अर्को महिनाको सुरुवातमा हुन सक्दछ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत पाएका छन् । हिजो उनले विश्वासको मत माग्दै राखेको प्रस्तावमा प्रतिनिधि सभा सदस्यहरूले मतदान गरेका थिए । उनले राखेको प्रस्तावको पक्षमा १७२ मत खसेको छ भने उनलाई विश्वासको मत दिनु हुन्न भन्ने पक्षमा ८९ मत परेको छ । हिजोको मतदानमा २६२ सांसद सहभागी थिए। तीमध्ये १ जना तटस्थ भएका थिए । यसअघि गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए । त्यतिबेला उनले २६८ जना सांसदको विश्वासको मत पाएका थिए । अस्थिर स्वभावका प्रचण्डले २ महिना नपुग्दै एमालेसँग गरेको सहमती तोड्दै राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेललाई मतदान गरेर राष्ट्र र जनतालाई समेत धोका दिएको कुरा एमाले नेता विष्णु पौडेलले प्रतिनिधि सभामा बोल्ने क्रममा हिजो बताएका हुन् ।
