काभ्रेवासीका लागि विशेषतः बनेपा र धुलिखेलवासीका लागि खुशीको खबर छ । तिनकुने कोटेश्वर-सुर्यविनायक सडक निर्माणको थालनी भएको २५ वर्षपछि सूर्यविनायक-धुलिखेल सडकखण्ड ६ लेनमा विस्तार हुने सुखद खबर छ । त्यसका लागि ठेक्का प्रक्रिया सकिएको र सडक विभागकी सिनियर डिभिजन इन्जिनियर राधिका प्रजापति श्रेष्ठले २०७९ माघ १९ गते एक पत्र बनेपा नगरपालिकालाई पठाउँदै सडक सिमा केन्द्र मानेर २५-२५ मिटर भित्र बनेका अवैध संरचना हटाउन सहयोग मागेकी छिन् । तीनकुने-सुर्यविनायक सडक निर्माणकार्य थालनी भएको २५ वर्षको धिमाह गतिले विकास हुनु नै हाम्रो देशको दुर्भाग्य हो । सुर्यविनायक खण्डमा निर्माण सम्पन्न हुनासाथ थालनी भएको भए अहिले धुलिखेलसम्म सडक निर्माण भईसक्थ्यो होला !
विपि राजमार्ग संचालनमा आएदेखि नै अरनिको राजमार्गको धुलिखेलदेखि बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले सडक विभागको बाध्यताले सुर्यविनायक-धुलिखेल सडकखण्ड विस्तारका लागि प्रक्रिया चालेको हो । यो सडकखण्ड विस्तारको लागि सरकारले ९ अर्व छुट्याएको छ । निर्माण कार्य आगामी आर्थिक २०८०/०८१ वर्षको शुरुआतसँगै हुने सडक विभागले जनाएको छ । सुर्यविनायक-धुलिखेल सडकखण्डको दुरी करीब १५ किलोमिटर लम्बाइको छ । वागमती प्रदेश अन्तर्गत विपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको छोटो दूरी धुलिखेलसँग जोडिन्छ पूर्वी नेपालदेखि मधेस जोड्ने यो सडकमार्ग छ लेनमा निर्माण हुँदा राजधानी काठमाडौं पुग्न धेरै नजिक हुन्छ ।
साँगामा सुरुङमार्ग निर्माण गर्नबारे छलफल भइरहेको बेला यो सडक निर्माण पछि यहाँबाट पूर्वी नेपाल र राजधानी काठमाण्डौं जोड्ने यातायातमार्ग झन् सहज र छिटो हुनेछ । कोटेश्वर -सूर्यविनायक सडक विस्तार गरेको जाइकाले नै सूर्यविनायक-धुलिखेल सडक विस्तार गर्न चासो लिएता पनि कोभिड को महामारीले त्यो सम्भव भएको थिएन । कोभिड सिद्दिए लगत्तै डिभिजन सडक कार्यालय भक्तपुरले सडक निर्माणका लागि भक्तपुर र सुर्यविनायक नगरपालिकालाई यस अघि अवैध संरचना हटाउन र निर्माण स्थल खाली गराउन अनुरोध गरेको थियो । सो बमोजिम नगरपालिकाहरुले सडक मापदण्ड विपरीत बनेका घरछाप्रा र रूख कटान लगायतका काम गर्दै आएका थिए । सडक निर्माणमा रु २३ अर्ब लागतको प्रस्ताव सन २०१८ मा जाइकाले गरेको थियो । जाइकाले सडक विस्तारका क्रममा जग्गासमेत लिनुपर्दा रु ४२ अर्ब लाग्ने अनुमान त्यतिबेला गरेको बताइन्छ ।
