आगामी फागुण २५ गते चुनिने राष्ट्रपतिको लागि सत्ताघटक राजनितिक दल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस पार्टी बिच ठूलै रस्सा कस्सी हुने देखिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रसका सभापति शेर बहादुर देउवा नजिकिए पछि एमाले पार्टी अध्यक्ष केपी ओली झस्केका छन् । भावी राष्ट्रपतिका लागि कोसँग समीकरण बनाउने भन्ने सुझाव र निर्णय लिन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । औपचारिकताका लागि पार्टी बैठक आव्हान गरे पनि दाहालले एमालेबाहिरबाट राष्ट्रपति बनाउने ‘बटमलाइन’ बनाइसकेको स्रोतको भनाइ छ । यसैका लागि उनले कांग्रेससँग आइतबारबाट निर्णायक संवाद पनि थालेका छन् । उच्च स्रोतका अनुसार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भावी राष्ट्रपति निर्वाचनमा सहकार्यको राजनीतिक मार्गचित्र कोरिएको छ । राष्ट्रपति निर्वाचनमा माओवादीको निर्णायक मत रहेकाले दाहालले एमाले र कांग्रेस दुवैलाई दबाबमा राखेर आफू अनुकूल ‘सफ्ट’ पात्रको खोजी गरिरहेका छन् । आइतबार राती प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभापति देउवासहित कांग्रेस शीर्ष नेता र प्रधानमन्त्री दाहालबीच छलफल भएको थियो । भेटमा भावी राष्ट्रपतिको बिषय र आगामी सहयात्राको छलफल भएको थियो । त्यहाँ प्रचण्डले कांग्रेस नेताहरुलाई समर्थन गर्न सकिने वचन दिएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै माधव नेपालको नाम अघि सारे चाहिँ आफू के गर्ने भन्ने अन्योलमा पर्ने जवाफ कांग्रेस नेताहरुलाई दिएका थिए । नाटकीय रुपमा कुनै घटनाक्रम बदलाव नआएको अवस्थामा दाहाल एमाले बाहिरको राष्ट्रपतिको अडानमा अब कायम रहने उनीनिकट नेताहरुले बताउदै आएका छन् ।
गत पुस १० मा प्रधानमन्त्री हुँदा प्रचण्डले एमालेलाई राष्ट्रपति दिने सहमति गरेका भए पनि उनी निकट एक नेताका अनुसार आफ्नो सरकारको सुरक्षा र भूराजनीतिक दबाबपछि एक कदम पछाडि हटेका हुन् । प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली पुरानै सहमति लागू हुनु पर्ने अडानमा छन् । एमाले उठाएको व्यक्ति नै राष्ट्रपति हुनुपर्ने अडान एमाले अध्यक्ष ओलीले दोहार्याएका छन् । दाहालले सोमबार प्रजातन्त्र दिवसको कार्यक्रममा सम्बोधन गर्दा पनि राष्ट्रिय सहमतिमै जोड दिएका छन् । ‘संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक समृद्धि हासिल गर्नका लागि वृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो,’ उनको सम्बोधनमा छ । सोमबार नै विराटनगर पुगेका एमाले अध्यक्ष ओलीले पनि राष्ट्रपतिको उम्मेदवार एमालेकै हुने र माओवादीले समर्थन गर्ने कुरा दोहो¥याएका थिए । तर दाहाल र ओलीबीचका पछिल्ला भेटवार्ताहरु परिणाममुखी बनेका छैनन् । बिहीबार र शुक्रबार ओलीसँग भेटेका दाहालले शनिबार कांग्रेस नेता विमलेन्द्र निधिसँग भेट गरेका थिए । सोमबार उनले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्ने तयारी गरेको बालुवाटार स्रोत बताउँछ । त्यसपछि दाहालले सोमबार अपराहन्न पार्टी पदाधिकारी वैठक बोलाएका छन् । उक्त बैठकमा राष्ट्रपतिको निर्वाचनमा पार्टीको ‘बटमलाइन’ बारे औपचारिक छलफल हुने भएको छ । ‘माओवादी कांग्रससँगको पुरा नै गठबन्धन ब्यूताउने खोजीरहेको छ । सोमबार पदाधिकारी बैठक बोलाईएको छ । उक्त बैठकमा राष्ट्रपतिको बिषयमा छलफल हुन्छ’ माओवादी उपमहासचिव मातृका यादवले भने । गत पुस २६ मा कांग्रेसको समेत विश्वासको मत पाएपछि दाहालले संवैधानिक पदहरुमा राष्ट्रिय सहमतिको प्रस्ताव ल्याएका थिए । त्यसैका आधारमा उनले एमालेमाथि दबाब बनाउँदै लगेका थिए भने कांग्रेससँग संवादको ढोका खोलेका थिए । निकट ती नेताका अनुसार विशेष रणनीतिक कारण देखाएर दाहालले एमालेबाहिर राष्ट्रपति खोज्ने मार्गचित्र ल्याएका हुन । एमाले अध्यक्ष ओलीसँगका भेटवार्ता औपचारिकता मात्रै भएको ती नेताको भनाई छ । ‘पदाधिकारी बैठक अघि वा पछि भएपनि एमालेसँग निर्णायक कुरा हुन्छ । तर प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ, राष्ट्रपति एमालेको हुँदैन,’ उनले भने । एमालेलाई राष्ट्रपति दिँदा शक्ति एउटै पार्टीमा केन्द्रित हुने र त्यो संविधान र लोकतन्त्रका लागि प्रतिकूल हुन सक्ने आफ्नो बुझाई र पाँच दलीय गठबन्धनका साझेदार दलहरुको सुझाव थियो । एमालेले सभामुख लिइसकेको छ । साढे दुई बर्षपछि एमालेलाई सरकारको पनि नेतृत्व गर्ने सहमति छ । राष्ट्रपति पनि एमालेको हुँदा सबै शक्ति एउटै ठाँउमा केन्द्रित हुने भए पछि प्रचण्डले संवैधानिक पदमा राष्ट्रिय सहमतिको एजेन्डामार्फत एमालेबाहिर राष्ट्रपति बनाउन खोजेका हुन् ।
भविष्यमा नयाँ गठबन्धन बनाउनुपर्ने अवस्था आउन सक्ने सम्भावना हेरेर प्रचण्डले एमालेबाहिर राष्ट्रपति खोजेको प्रचण्ड निकट नेताहरुले सञ्चार माध्यमको बहसमा बताउँदै आएका छन् । दाहाल आफ्नो नेतृत्वमा सके पाँचै बर्ष नभए तीन बर्ष भन्दा धेरै सरकार चलाउन चाहन्छन् । ती नेताका अनुसार दाहाललाई गैरकम्युनिष्ट राष्ट्रपति बनाउन खास गरेर भारत र अमेरिकाको सुझाव छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राले काठमाडौंमा राजनीति भेट गरेपछि राष्ट्रपति निर्वाचनमा भूराजनीतिक चासोले प्रवेश पाएको नेताहरुको भनाई छ । दाहाल र क्वात्राबीच एक्लाएक्लै भेटवार्ता भए पनि एजेन्डाबारे केही बताइएको छैन ।
हिजो बसेको माओवादी पदाधिकारी बैठकले स्वार्थ मिल्ने शाक्ति सँग मिलेर अघिबद्ने निर्णय भएको कुरा पार्टी उपाध्यक्ष कृष्णवहादुर महराले संचारकर्मीलाई बताए । राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चुनिने सवालमा अन्तिम निर्णय लिने अधिकार बैठकले पार्टी अध्यक्ष प्रचण्डलाई दिएको जनाएको छ ।
