धुलिखेल, आन्तरिक राजश्व कार्यालय धुलिखेलले आ.व २०७९ को पुस मसान्त सम्ममा १ अर्ब ९८ करोड १७ लाख लक्ष्य लिएकोमा आर्थिक वर्ष समाप्त भएका ६ महिनामा १ अर्ब २४ करोड ८१ लाख मात्र राजश्व संकलन गर्न सफल भएको छ । प्रतिशतमा लक्ष्यको ६३ प्रतिशत राजश्व उठेको छ । त्यस्तै गरी आ.व ०७८।०७९ को पुस मसान्त सम्ममा १ अर्ब ९१ करोड ७७ लाख लक्ष्य लिइएकोमा १ अर्ब ७८ करोड ४० लाख राजश्व उठेको थियो । प्रतिशतमा उक्त राजश्व संकलन लक्ष्यको ८९ प्रतिशत मात्र हो । २०७९ पुस मसान्त सम्म व्यक्तिगत पान लिने संख्या ४९ हजार ४ सय ५२, व्यवसायिक करदाता ४७ हजार ८ सय ८३ र कुल करदाता संख्या ९७ हजार ३ सय ३५ रहेका छन् । त्यस्तै आ.व २०७८ पुस मसान्त सम्म व्यक्तिगत पान लिने ४१ हजार ५ सय ४२, कुल करदाता संख्या ८४ हजार १ सय ७९ रहेको कुरा सूचना अधिकारी ढुण्डीराज दाहालले बताउनुभयो । आन्तरिक राजश्व कार्यालय धुलिखेलले लक्ष्य लिए अनुसार राजश्व संकलन किन सकेन भन्ने जिज्ञासा राख्दा कर अधिकृत युवराज दाहालले यस्तो प्रतिक्रिया दिनुभयो । निर्धारित समयमा पूंजीगत खर्च नहुनु, सरकारले भूउपयोग नीति लागु गरेर जग्गा वर्गिकरण नगरी जग्गाको कारोबार गर्न बन्देज गर्नु, जग्गा खरिद बिक्री कारोबार रोकिनुले पंूजीगत लाभकर संकलन नहुनु जस्ता कारणले गर्दा कार्यालयले लक्ष्य लिए अनुसार राजश्व कर उठ्न नसकेको प्रतिक्रिया दिनुभयो ।
