सत्तारुढ दलहरूको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
६० वर्षमाथिका नागरिकलाई निःशुल्क औषधि र स्वास्थ्य परीक्षण
सत्तारुढ दलहरूले ६० वर्षभन्दा माथिका नागरिकको उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने घोषणा गरेका छन् । हिजो सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा ’निरोगी नेपाल, स्वस्थ नागरिक’ बनाउने उल्लेख छ ।’६० वर्षभन्दा माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने । प्रभावकारी स्वास्थ्य बिमा कार्यक्रममार्फत् नागरिकको स्वास्थोपचार सहज बनाउने । स्वास्थ्य बिमा सुविधा प्राप्त गर्न सेवाग्राहीहरूले भोग्नु परेका झन्झट तत्काल हटाउने’ न्यूनतम साझा कार्यक्रममा उल्लेख छ । निरोगी नेपालको अवधारणा र स्वास्थ्यसम्बन्धी मौलिक अधिकारको कार्यान्वयन सुनिश्चित गर्ने, यसका लागि–सवै नागरिकमा निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने र सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुरÞ्याउने घोषणा गरेको छ ।
७ सय ५३ पालिकामा नै आधारभूत अस्पताल र प्रदेशहरूमा विशिष्टीकृत अस्पताल निर्माण पुरा गर्ने पनि उल्लेख छ ।महिनावारी हुने उमेर समूहका सम्पूणर् महिलाका लागि गुणस्तरीय स्यानिटरी प्याड वा अन्य वैकल्पिक साधन खरिद गर्न वार्षिक १ हजार ५ सय उपलब्ध गराउने र प्रसूति हुने शतप्रतिशत महिलाको गर्भावस्थाको नियमित स्वास्थ्यजाँच तथा दक्ष स्वास्थ्यकर्मीको सहयोगमा स्वास्थ्य संस्थाबाट प्रसूति सेवा सुनिश्चित गर्ने पनि न्यूनतम साझा कार्यक्रममा समावेश गरेको छ । महिलालाई स्यानिटरी प्याड किन्न सहयोग गर्ने कार्यक्रम सत्तारुढ दल एमालेको चुनावी घोषणापत्रमा समेत उल्लेख थियो । एमालेले आफ्नो घोषणापत्रमा महिनावारी हुने उमेर समूहका सबै महिलाका लागि स्यानिटरी प्याड खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको थियो ।
सबै बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर्ने प्रतिबद्धता छ । सरकारी, सामुदायिक र निजी क्षेत्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरीयता सुनिश्चितताका लागि अधिकार सम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकरण (नेशनल एक्रिडिटेसन अथोरिटी), रोग नियन्त्रण केन्द्र तथा खाद्य तथा औषधि नियमन प्राधिकरण बनाई स्वास्थ्य सेवाको नियमन गर्ने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक सरकारले ल्याएको साझा न्यूनमत कार्यक्रम कार्यान्वयन हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । सिंहदरबारमा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले यसअघिको सत्तारुढ गठबन्धनले ल्याएको कार्यक्रम कार्यान्वयन नभएको प्रसंग कोट्याउँदै आफू प्रधानमन्त्री भएकाले यो लागू हुने जनाउनु भयो । प्रतिबद्धताहरु धेरै गरिए तर ती प्रतिबद्धता जुन तदारुकता साथ जिम्मेवारी र गम्भीरता साथ कार्यान्वयनमा लैजानु पर्ने हो त्यो नगरिएको इतिहास हामी सामु छ, दाहालले भन्नुभयो ।
प्रधानमन्त्री भएपछि सचिवहरुसँग भएको अन्तक्रियाको प्रसंग कोट्याउँदै प्रधानमन्त्री दाहालले उनीहरूलाई आफूले राष्ट्र र जनताको पक्षमा, सामाजिक न्याय, समृद्धिको पक्षमा दृढता साथ अघि जानका लागि भनेको बताउनुभयो । अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकका रुपमा एमाले अध्यक्ष केपी ओलीले हिजो प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गरिएको थिए ।
